नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संचार उद्यमी कैलाश सिरोहिया पक्राउप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ । उक्त निजी क्षेत्रका व्यवसायी संस्थाहरुले प्रेस विज्ञप्तीमार्फत आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएको हो ।
विज्ञप्तीमा भनिएको छ, ‘कानुनविपरीत काम गरेको प्रमाणित भएमा जोकोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा हामी सबै स्पष्ट छौं । तर, कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्नेतर्फ हामी ध्यानाकर्षण गराउन चाहन्छौं ।’
उक्त निजी क्षेत्रहरुले विगतदेखि नै उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभई सुनुवाईको मौका दिनुपर्ने भन्दै आइराखेकाले उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरुका कुरा सुनिदिनुपर्छ भन्ने आफूहरुको आग्रह भएको विज्ञप्तीमार्फत जनाइएको छ । ‘थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न हामी आग्रह गर्दछौं’, विज्ञप्तीमा भनिएको छ ।
उक्त संस्थाहरुले अहिले मुलुक आर्थिक संकटको अवस्थाबाट माथि उठिसकेको बेला कहीँ कतैबाट पनि व्यावसायिक वातावरण खल्बलिन दिनु नहुने सुझाव दिदैँ कुनैपनि व्यवसायीको मान मर्दन गरेर तथा उनीहरुलाई हतोत्साही गरेर लगानीको वातावरण बन्न नसक्ने जनाएका छन् ।
अहिले देशभित्रका सानादेखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता भएको भन्दै उद्योगी व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्नुपर्ने भन्दै उक्त संस्थाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।


















