राजपत्रभन्दा ठूलो माओवादी निर्णय नहुने भन्दै सांसद देवकोटा सर्वोच्च जाने

सांसद फणिन्द्र देवकोटालाई नेकपा माओवादीले कारवाही गरेपछि उनी उक्त कारवाही विरुद्ध अदालत जाने भएका छन् । गत जेठ २८ गते गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई फ्लोरक्रस गरेर विश्वासको मत दिएपछि माओवादीले उनलाई कारवाही गरेको थियो ।

निर्वाचनका बेला नेकपा माओवादी र नेपाल समाजवादी पार्टीले माओवादीकै चुनाव चिन्ह गोलाकार भित्रको हसिया हथौडा चुनाव चिन्ह लिएर निर्वाचनमा गएका थिए । दुई वटा पार्टीले साझा चुनाव चिन्ह लिएमा जुन दलको बढी सिट आउछ उसैको संसदीय दल मात्र रहने कानुनी व्यवस्था छ । सोही व्यवस्था अनुसार नेकपा माओवादीले फणिन्द्र देवकोटा आफ्नो दलको सांसद भएको दाबी गर्दै उनले संसदीय दलको ह्वीप उल्लघंन गरेकाले कारवाही गरेको दाबी गर्ने गरेको छ ।

कारवाहीमा परेका सांसद देवकोटाले भने आफूले निर्वाचनका बेला मनोनयन दर्ता गर्दा नेपाल समाजवादी पार्टीको तर्फबाट मनोनयन दर्ता गरेको दाबी गर्ने गरेका छन् । निर्वाचन आयोगको अभिलेखमा पनि उनले मनोनयन दर्ता गरेको फारममा नेपाल समाजवादी पार्टी नै उल्लेख गरेको देखिन्छ । त्यसैगरी निर्वाचन आयोगको वेवसाइडमा पनि फणिन्द्र देवकोटाको दल नेपाल समाजवादी पार्टी भनेर उल्लेख छ । गण्डकी प्रदेशले पनि उनलाई परिचयपत्र दिदा  समाजवादी पार्टी उल्लेख गरेरै दिएको छ ।

यसैगरी नेपाल राजपत्र खण्ड ७२ मंसिर २९ गते २०७९ सालको अतिरिक्ताङ्कको ४७(ग) मा पनि देवकोटा नेपाल समाजवादी पार्टीबाट विजयी भएको उल्लेख छ । राजपत्रमा समेत समाजवादी पार्टी भनेर आइसकेको अवस्थामा नेकपा माओवादीले उनलाई कारवाही गर्नु र गण्डकी प्रदेशका सभामुखले त्यसैलाई वाचन गरेर सुनाउनु शक्तिको आडमा बल मिच्याई गरेको सर्वत्र चर्चा छ ।

त्यसो त देवकोटा आफू समाजवादी पार्टीको सांसद भएको र अहिले पनि सोही पार्टीको महाधिवेशन आयोजक समिति सदस्य रहेको सान न्यूजलाई बताए । उनले भने, ‘माओवादीले मलाई कारवाही गर्न मिल्दैन । किनकी कारवाही गर्ने अर्को दलले होइन, म जुन दलको सदस्य हुँ, त्यो दलले मात्र कारवाही गर्न सक्छ ।’ उनले आफ्नो कारवाहीविरुद्ध मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गर्ने समेत बताएका छन् ।

देवकोटाले भने, ‘आइतबार आवश्यक कागजातहरु संकलन गरे । सोमबार सार्वजनिक विदा भएकोले अदालत खुलेन । भोलि मंगलबार कारवाहीको विरुद्ध अदालतमा रिट लिएर जान्छु ।’