योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताएका छन् । विश्व योग दिवसका अवसरमा आज भक्तपुरमाआयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे ।

योग शारीरिक अभ्यासमात्र नभई निश्चित नियम, विधि र प्रक्रियामा रही अपनाउने वैज्ञानिक जीवनशैली एवं जीवनपद्धति भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले स्वस्थकर जीवनयापनका लागि व्यक्तिलाई शारीरिक, मानसिक र आध्यात्मिक रूपमा सबल बनाउन योगले सहयोग पुर्याउने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले भने, ‘शरीरलाई स्वस्थ र फूर्तिलो बनाउने तथा मनलाई स्वच्छ र शान्त बनाउने सर्वोत्तम उपाय योग हो । नियमित योगाभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्यक्षमताका साथै रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि, व्यक्तिमा सकारात्मक सोचको विकास, व्यक्तिमा अनुशासन र आन्तरिक ऊर्जा प्राप्त हुनेजस्ता गुणको विकास हुन्छ ।’

तनावमुक्त शान्त मन र रोगमुक्त स्वस्थ शरीर विकासमा योगको महत्त्वपूर्ण भूमिका रहने बताउँदै प्रधानमन्त्रीले योग र ध्यानका अभ्यासहरूबाट नसर्ने रोगहरूको रोकथाम, उपचार र पुनःस्थापनाका लागि महत्त्वपूर्ण योगदान पुग्ने विचार व्यक्त गरे । उनले भने, ‘नेपाल योग पर्यटनका निम्ति अत्यन्त सम्भावनायुक्त देश हो । तसर्थ, हामीले योगको विश्वव्यापीकरणमा जोड दिनुपर्दछ । यस दिशामा योजनाबद्ध पहल लिन योगका अभियन्ताहरू र योग गुरूहरूमा म हार्दिक अपिल गर्दछु ।’

योग नेपालको आम जीवनपद्धति एवं अमूल्य निधि भएको बताउँदै प्रधानमन्त्री दाहालले प्रस्तावित योगमाया आयुर्वेद विश्वविद्यालय भविष्यमा विश्वस्तरीय विश्वविद्यालयका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे ।