नेकपा एस महाधिवेशन, अध्यक्षमा तीन नेताको दौडधुप, नेपाल–भुसालको चर्को रापताप

काठमाडौं– तीन वर्षअघि भएको नेकपा एमालेसँगको विद्रोहलाई अनुमोदन गर्ने भनिएको नेकपा (एकीकृत समाजवादी)को १०औँ महाधिवेशन आइतबारदेखि हुँदैछ ।
महाधिवेशनले नेतृत्व चयन र पार्टीको कार्यदिशा पनि तय गर्दैछ । मूलभूूत रूपमा यी दुई कारणले नेकपा एसको महाधिवेशनको महत्व छ ।
महाधिवेशनमा पार्टी नेतृत्वका आकांक्षीहरू भने पुराना र युवा पुुस्ताबाट देखिएका छन् । पुराना पुस्ताबाट वर्तमान अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल आकांक्षी छन् । युवापुस्ताबाट चाहिँ महासचिव घनश्याम भुसाल अध्यक्षको दाबेदार देखिएका छन् ।
नेपालले एमालेसँगको विद्रोहको नेतृत्व गरेको र ंविद्रोहको औचित्य पुष्टि गर्न पनि आफू फेरि अध्यक्ष बन्नैपर्ने तर्क गर्दै आएका छन् । यतिसम्मकि उनले पार्टी नेतृत्वमा आफू निर्विकल्प भन्ने गरेका छन् । चुनाव जित्नेगरी महाधिवेशन प्रतिनिधिहरूको छनोट गरेर ल्याएको पनि चर्चा छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल फेरि अध्यक्षमा दोहोरिने गरिको चुनावी तयारी थाल्दा उनलाई यसपटक रोक्ने रणनीतिमा सम्मानित नेता खनाल छन् ।
उनले एस.ए.एन्.एन् न्यूज ( सान न्युज )सँग कुराकानी गर्दै शुक्रबार भने, ‘उहाँको नेतृत्वमा पार्टी गतिशील हुँदैन । संगठन चलायमान हुँदैन । पार्टी नेता कार्यकर्तामा ऊर्जाले भरिँदैन । त्यही भएर म अध्यक्ष हुनुपर्ने समयको माग हो ।’
नेपालको नेतृत्वमा ४ मंसिर २०७९ मा भएको चुनावमा जाँदा जनमतको दृष्टिले पार्टी विभाजनको औचित्य पुष्टि नभएको र पार्टी नेता कार्यकर्तामा पूरै निराशा पैदा भएको भन्दै खनालले पार्टीलाई वैचारिक रुपमा गतिशील र सांगठनिक रुपमा चलायमान बनाउन अध्यक्ष हुन चाहेको बताउने गरेका छन् ।
उसो त उनको अध्यक्ष नेपालसँग पछिल्लो समय वैचारिक बेमेल पनि छ । पार्टीको मार्गनिर्देशक सिद्धान्तको रुपमा जनताको बहुदलीय जनवाद (जबज)लाई अंगिकार गर्ने कि नगर्ने भन्नेमा लामो दुई नेताबीच विचारयुद्ध भयो । अन्ततः नेपाल जबजबाट हालैका दिनमा पछि हटेका छन् । नेपाली अनुुकूूलको समाजवादको पक्षमा उभिएका छन् । जुन खनालको विचार हो । त्यही भएर जसको विचार उसकै नेतृत्वको भन्दै खनाल अध्यक्षमा अघि बढेका छन् ।
तर, खनालले अन्तिममा महासचिव भुसाललाई अध्यक्षमा अघि सार्ने स्रोतले जनाएको छ । हुन पनि खनालभन्दा पनि पार्टी संगठनमा भुुसाल सशक्त छन् । त्यही भएर भुसाललाई नेपालसँग चुनाव लडाउन खनालले अघि सार्ने तयारी गरेको चर्चा छ ।
पार्टीमा अध्यक्ष नेपालसँग खनाल र भुसालले एक्लाएक्लै प्रतिस्पर्धा गरे चुनाव हार्न सक्ने यी दुई नेताको विश्लेषण छ । सोहीकारण एकताबद्ध भएर नेपालसँग चुनाव लड्दा जित्न सकिने बुझाइ छ ।
पार्टी अध्यक्षमा दाबेदार भुसालले राजनीतिक, सैद्धान्तिक र वैचारिक ढंगले पार्टी नेतृत्व गर्न अध्यक्ष हुनुपर्ने तर्क गर्दै आएका छन् । उनी नेकपा एसमा पछि आएका नेता हुन् ।
तर, पार्टी सांगठनिक पक्ष हेर्ने जिम्मेवारीमा समेत रहेका भुसालले छोटो अवधिमै पार्टीको एक तप्कालाई विश्वासमा लिएका छन् । यद्यपि, महाधिवेशनबाट अध्यक्ष भने नेपाल नै निर्वाचित हुने र उनी महाधिवेशमार्फत अनुमोदित हुने केन्द्रीय कमिटी सदस्य सुदेश पराजुलीले दाबी गरे ।
‘जेएन कमरेड विद्रोहको नेता होइनन् । समर्थन मात्रै गरेका हुन् । विद्रोहको नेता त माधव नेपाल हुन् । उनी नेतृत्वको विद्रोहलाई अबको महाधिवेशनले अनुमोदन गर्ने हो । मतलव नेपाललाई नेतृत्वमा फेरि अनुमोदन गर्छ’, ‘जेएन कमरेड सल्लाहकार बस्नुपर्छ । घनश्याम कमरेड अहिल्यै अध्यक्षका हकदार होइनन् ।’
प्यानल बनाएर चुनाव लड्न भने रोक लगाइएको छ ।
१ असारमा जारी अन्तरपार्टी निर्देशन (अपानी)मै भनिएको छ, ‘महाधिवेशन प्रतिनिधि चयनका लागि समूह बनाएर चुनाव लड्न पाइने छैन ।’
प्यानल बनाएर चुनाव लडेको अवस्थामा पार्टी फुट्ने भय अध्यक्ष नेपाल र खनालको छ । यी दुवै नेता चार दशकयता पटकपटक पार्टी र सरकारको नेतृत्व तहमा रहिसकेका छन् । अझै शक्तिमै रहने तीब्र चाहना दुवै नेतामा देखिएको छ ।
यसअघि नेपाल पूर्ववर्ती दल नेकपा एमालेको तीनपटक गरी १५ वर्ष महासचिव भए । २०६६ सालमा त प्रधानमन्त्री नै भए । २०७८ यता नेकपा एसको अध्यक्ष छन् ।
खनाल चाहिँ पञ्चायतकाल छँदै २०३९ मा नेकपा मालेको महासचिव भएका थिए । त्यसपछि उनी २०६५ मा एमाले अध्यक्षात्मक प्रणालीमा गएपछि अध्यक्ष भए । २०६७ मा प्रधानमन्त्री बने । यसरी पञ्चायतकालदेखिका शक्तिमा रहँदै आएका यी दुई नेताको अध्यक्ष पदका लागि हुने चुनावी भिडन्तमा सरिक हुने देखिएको छ । महासचिव भुसाल पनि अध्यक्ष पदको आकांक्षी थपिएकाले महाधिवेशनमा चुनाव थप रोचक हुने देखिएको छ ।
तर, औपचारिक रुपमा कुनै नेताले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छैनन् । निकटस्थ नेता कार्यकर्ता र प्रतिनिधिहरूलाई भने अध्यक्षमा चुनाव लड्ने भन्दै सन्देश पठाइरहेका छन् ।
महाधिवेशन भने यही असारको १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनमा एक हजार ८४९ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।
भूगोलको संघीय निर्वाचन क्षेत्रबाट एक हजार १५७ जना, उपत्यका प्रदेशका जिल्ला कमिटीका कार्यक्षेत्रबाट २३ जना, प्रदेश सम्पर्क कमिटी क्षेत्रबाट २२ जना, भारत प्रवास क्षेत्रबाट ८ जना, अन्य प्रवास क्षेत्रबाट १५ जना महाधिवेशन प्रतिनिधि रहने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
केन्द्रीय सल्लाहकार परिषद्बाट ५ जना, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चबाट ५ जना, विभिन्न महासंघहरूबाट ८५ जना र जनसंगठनहरूबाट ५६ जना प्रतिनिधि रहने छन् ।
केन्द्रीय कमिटीबाट ३४६ जना, केन्द्रीय आयोगहरूबाट १०४ जना, केन्द्रीय विभाग र केन्द्रीय कार्यालयबाट ३२ र मजदुर विशेष आरक्षणबाट २० जना प्रतिनिधि सहभागी हुनेछन् ।
महासचिव हुन कुदाकुद
कम्युनिस्ट पार्टीमा अध्यक्षपछि कार्यकारी भूूमिका महासचिवको हुन्छ । सोही महासचिव पदमा दाबेदार नेताहरूको नामको लामो सूची छ । एउटा महासचिव पदका लागि वर्तमान चार जना उपमहासचिव डा. विजय पौडेल, डा. गंगालाल तुलाधर, प्रकाश ज्वाला र जगन्नाथ खतिवडाको दाबेदारी छ । पार्टी सचिवहरू राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री पनि महासचिव पदका दाबेदार हुन् । यतिबेला पौडेल, तुलाधर, खतिवडा र ज्वाला महासचिव हुन तीब्र तयारीमा छन् ।
पार्टी संगठनमा पौडेल, तुलाधर र ज्वाला प्रभावशाली हुन् । सचिव झाँक्री पार्टीभित्र र बाहिर चर्चित छिन् । देशमा गणतन्त्र स्थापना खातिर भएको दोस्रो जनआन्दोलनको अग्रमोर्चामा खटिएकी उनकै भरोसामा नेपालले एमालेबाट विद्रोह गर्ने आँट गरेको बताइन्छ । तर, उनी पछिल्लो अढाई वर्ष यता निष्क्रियजस्तै छिन् । पार्टी बैठकमा पनि उनको सहभागिता निकै कम हुने गरेको छ ।
युवामाझ चर्चित नेता राजेन्द्र राईको पनि महासचिवमा तयारी छ । कोशीका पूर्वमुख्यमन्त्रीसमेत रहेका राईलाई पनि महासचिव पदका बलियो उम्मेदवार मानिन्छ ।ब