जिल्ला प्रहरी कार्यालय बाँकेले गोली हानेर डाँका चोरी मुद्दाका एक फरार व्यक्तिलाई पक्राउ गरेको छ । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीका अनुसार डडुवा-६ शिखनपुरूवामा फरार सरमान सिंह सरदारलाई नियन्त्रणमा लिन गोली चलाइएको हो ।
फरार सरदारको घुँडामा एक राउण्ड गोली लागेको प्रहरीले जनाएको छ । घटना आज बिहान साढे ८ बजेतिर भएको बताइएको छ । बाँके प्रहरीले चलाएको उक्त अपरेसनमा एकजना प्रहरीलाई समेत गोली लागेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले पक्राउ गर्न गएको प्रहरी टोलीलाई आक्रमण गरेर भागेपछि गोली हानेर नियन्त्रणमा लिइएको बताए ।
उनले भने, ‘डाँका चोरी मुद्दाका फरार प्रतिवादी प्रहरीलाई नै आक्रमण गरेर भागेपछि प्रहरीले गोली चलाएको हो । घटनामा फरार प्रतिवादीका साथै एकजना प्रहरी पनि घाइते भएका छन् ।’ दुबै घाइतेलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा पुर्याइएको छ । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।


















