ललितपुरका मेयर चिरीबाबुलाई बोलायो अख्तियारले

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई पत्र काटेको छ । बुधबार आयोगले बाढी पहिरोबाट वडा नम्बर २४ स्थित नगरपालिकाको निर्णय विपरीत बाढीपीडितलाई एक लाख ५० हजार र दुई लाख ५० हजार रकम बाँडेको विषयलाई लिएर उपस्थित हुन पत्र काटेको हो ।

पत्रमा भनिएको छ, ‘२०७७ सालमा धापाखेलमा आएको बाढी पहिरोका पीडितलाई नगर प्रमुखले एकलौटी ढंगबाट आर्थिक सहयोगको नाममा रकम बाँडेर महानगरलाई हानि हुने काम गरेको भन्ने व्यहोराको यस आयोगमा दर्ता भएको छ । उक्त उजुरीको अनुसन्धानको क्रममा तपाईंसँग केही कुरा बुझ्नुपर्ने भएकोले उपस्थित भई अनुसन्धानमा सहयोग गर्न अनुरोध गर्दछौं ।’ पत्रमा असार २६ गते बिहान १० बजे आयोगको महाशाखा नम्बर ३ मा उपस्थिति हुन भनिएको छ ।

बुधबार महानगरका मेयर महर्जन स्वयं उपस्थित भएर अख्तियार आयुक्त सुमित्रा अमात्यको वडा नम्बर-१० चाकुपाटस्थित अमात्यको घरको पर्खाल डोजर लगाएर भत्काएका थिए । उनले सम्पदाको जग्गा मिचेर पर्खाल लगाएको महानगरले बताएको छ । यस्तै, महानगरले आयुक्तको परिवार र गुठीयारसँग छलफल गर्दा पनि जग्गा खाली नगराइएकाले डोजर चलाइएको बताइएको छ । सोही रिसइबी साँध्न महानगरपालिकाका मेयर चिरीबाबुले उक्त पत्र काटिएको बताएका छन् ।