ट्रक चालक हत्याकाण्ड: नातामा ससुरा-बुहारी ११ वर्ष रिलेसनमा, गर्भपतन र आर्थिक लेनदेन विवादमा हत्या

यही असारको १ गते साँझ वीरभानसिंह विष्ट ट्रकमा बालुवा लिएर बैतडीको पाटन गए । भाइ खड्कसिंह विष्टका अनुसार वीरभानसिंह त्यस दिन घर भने पुगेनन् । ट्रक पाटनस्थित सडकमा फेला पर्‍यो । तर, वीरभानसिंह फेला परेनन् । उनको खोजी भइरह्यो । त्यहीक्रममा गाउँकै शिक्षिका भागरथी देवी विष्टलाई खड्कले सोधे- दाजु देख्नुभयो ?’ भागरथीले भनिन्, ‘भिनाजु भरत विष्टसँग आएर भेटेको हो ।’

यसपछि खड्कसहित गाउँलेहरू वीरभानलाई खोज्न गाउँदेखि तल खेततिर गए । जाँदैगर्दा बाटोमा केही घिसारेजस्तो देखे । राम्ररी हेर्दै जाँदा रगतको दाग देखे । पहिल्याउँदै जाँदा उनीहरू घाँडलखोलास्थित सडक छेउको भिरमा पुगे । त्यहाँदेखि तल हेर्दा खोलामा हरियो रंगको प्लाष्टिक र डोरिले बाँधिएको अवस्थामा लासजस्तो देखे । त्यहाँ पुगेर हेर्दा वीरभानको लास फेला पर्‍यो ।

त्यसपछि खड्कले फेरि भागरथी देवीलाई सोध्दा आफूसहित, आशिक पहरी, राजेन्द्र भट्टराई र परिवर्तित नाम ‘पाटन जे’ले वीरभानको काठको चिर्कटोहरूले हानेर हत्या गरेको खुलाइन् । वीरभानको मृत्यु भएपछि भने केही छिन घिसार्दै लगेको र अलिक तल पुर्‍याएपछि मोटरसाइकलमा लगेर भिरदेखि फ्याँकेको पनि बताइन् ।

गर्भ फाल्न जाँदा वीरभान छाडेर आएपछि…

शारीरिक सम्बन्धले नजिक, पैसाको व्यवहारले टाढा सम्बन्ध

३६ वर्षीया भागरथी देवी विष्ट शिक्षिका हुन् । बैतडीको पाटन-६ को सहस्रलिङ्ग विद्यालयमा उनी पढाउँथिइन् । उनको श्रीमान् दीपेन्द्र विष्टको निधन भएको पहिल्यै हो । उनीहरूका दुई छोरा छन् । श्रीमानको निधनपछि एकल महिला भएकी उनको प्रेम छिमेकी वीरभान विष्टसँग पर्‍यो । २०६९ सालतिर भागरथीलाई परीक्षा लेख्न धनगढी जानु थियो । त्यसबेला वीरभान ट्रक चलाउँथे । वीरभानकै ट्रकमा भागरथी धनगढी गइन् । प्रहरीलाई दिएको बयानअनुसार भागरथी र वीरभानबीच सहमतिमै शारीरिक सम्पर्क भयो । परीक्षा दिइसकेपछि दुवै जना डोटीको घण्टेश्वर मन्दिरमा गए । त्यहाँ वीरभानले भागरथीको सिउँदोमा सिन्दुर हाले । अनि, सम्बन्ध श्रीमान्–श्रीमतीको भयो । शारीरिक सम्पर्कको बेला वीरभान गर्भ नरहने औषधी भागरथीलाई दिन्थे । यत्तिकैमा भागरथीबाट विभिन्न समयमा गरी वीरभानले ६ लाख नगद र डेढ तोलाको सुनको हार लगे ।

२०७६ सालको कुरा हो । भागरथीको रजस्वला २/३ महिना रोकियो । जबकि वीरभान उनलाई गर्भ निरोधक औषधी भन्दै दिन्थे । रजस्वला रोकिएपछि औषधीमा शंका भयो । मोबाइलको टर्च बालेर औषधी ओल्टाइपल्टाइ हेर्दा थाहा भयो कि गर्भ निरोधक नभई भियग्रा पो रहेछ । यसपछि भागरथी आत्तिइन् । वीरभानलाई उनले भनिन्, ‘तपाईंले किन झुक्याउनुभयो ? मेरो पेटमा गर्भ छ । जाउँ चेकजाँच गर्न ।’ वीरभान मानेनन् । दुईबीच विवाद भयो । भागरथीले जबर्जस्ती वीरभानलाई डडेल्धुरा लगिन् । तर, वीरभान त्यहाँ नबसी फर्किए । भागरथी एक्ली भइन् । यसपछि भागरथीले आफूसँग वीरभानले स्वार्थ लुटेको मात्रै महसुस गरिन् । अनि, वीरभानलाई रिसाउँदै भनिन्, ‘मेरो पैसा र सुन तुरुन्त फिर्ता देउ ।’
वीरभान उनलाई लगेको पैसा र सुन फिर्ता गर्न तयार भएनन् । उल्टै गाउँ समाजमा बेइज्जत गर्न थाले । यसपछि भागरथीमा प्रतिशोधनको भावना जाग्यो । उनको सम्बन्ध आशिक पहरीसँग नजिकिँदै थियो । भागरथीले प्रहरीले दिएको बयानअनुसार भागरथी र आशिकबीच शारीरिक सम्पर्क पनि भएको थियो । उनै आशिकलाई भागरथीले भनिन्, ‘वीरभानले मेरो पैसा र सुन लगेर दिएनन् । उल्टै बेइज्जत पो गर्न थाले ।’ यति भनेपछि आशिकले भागरथीलाई भने, ‘ल ठीक छ । म त्यसलाई ठीक पार्छु । सुरुमा लठ्याउने औषधी खुवाऔँ । औषधी लिन म जान्छु । तपाईंले त्यसलाई बोलाएर औषधी खुवाउनु । अनि लठ्ठिएपछि केटाहरूलाई बोलाएर कुटपिट गर्ने ।’

सल्लाहअनुसार भागरथीले वीरभानलाई फोन गरेर सोधिन्, – ‘तपाईं कता हुनुहुन्छ ?’
वीरभानले भने, ‘पाटन पुग्न लागेँ ।’ त्यसपछि भागरथीले आफ्नो घरमा आउन भने । वीरभान रातको साढे ११ बजेतिर भागरथीको घर पुगे । दुवै जना घरको तेस्रो तलामा बसे । वीरभानले आफू घर जाने भएकाले छिटो शारीरिक सम्पर्क गरौँ भने । यसपछि वीरभान सुतेरै आफ्नो कपडा खोल्न थाले । भागरथी बाहिर निस्किन् । जबकि त्यसबेला योजनाअनुसार आशिकसँगै राजेन्द्र भट्टराई र परिवर्तीत नाम ‘पाटन जे’ घरबाहिर चिर्कटोसहित थिए । भागरथीले वीरभान तेस्रो तलामा रहेको सुइँको दिइन् । त्यसपछि उनीहरू गएर वीरभानलाई सुतेकै ठाउँमा अन्धाधुन्दा चिर्कटो प्रहार गर्न थाले । वीरभानले चर्को स्वरमा ‘बचाउ बचाउ’ भनेको भागरथीले सुनिन् । गाउँभरका मान्छेले सुन्न डर भयो । ‘पाटन जे’लाई मान्छे कोही आउँछन् भनेर चियो गर्न लगाइन् । आशिक र राजेन्द्रले कुटपिट गर्दै तेस्रो तलाबाट निकाल्दै गर्दा वीरभान उम्किए र भागे । भाग्ने क्रममा अँध्यारोका कारण तल्लो तलामा खसे । रक्ताम्य उनी बेहोस् भएर ढले । अनि, त्यहीँ आशिक र राजेन्द्रले कुटेर वीरभानको हत्या गरेको मुख्य योजनाकार रहेकी भागरथीको बयान छ ।

२० हजारमा शव व्यवस्थापन

असार २ गते बिहानै आशिकले भागरथीलाई फोन गरी वीरभानको शव व्यवस्थापन गर्न २० हजार मागे । बैंकको एउटा खाली चेक पनि लिएर लोर्खामा रहेको पिपलबोटनेर आउनु भने । भागरथी नगद २० हजार मात्रै लिएर पिपलबोट गइन् । त्यसबेलासम्म वीरभानको शव भागरथीकै घरमा थियो । अनि, त्यही दिन राति १२ बजेतिर गाउँलेहरू सुतेपछि भागरथीसँगै आशिक, राजेन्द्र र ‘पाटन जे’ले लासलाई तन्नामा बटारी रसीले बाँधे । लासलाई केही तल खेतसम्म पुर्‍याएपछि भागरथी रगत पखाल्ने भन्दै घरतिर फर्किन् । अन्यले लास घिसार्दै लगेर भिरदेखि तल खोलाछेउमा फाले ।
घटनाका प्रतिवादी आशिकले भने आफूलाई भागरथीले घटनाभन्दा १०/१५ दिनअघि बोलाएर ८ लाख रुपैयाँ वीरभानले नदिएको र उनको हत्या गर्नुपर्ने भनेको बयान दिएका छन् । त्यसक्रममा १०/११ वर्ष रिलेसनमा बसेर अन्तत: धोका दिन खोजेको आशिकसँग भागरथीले गुनासो पनि सुनाएकी थिइन् । यसपछि आफूहरू वीरभानको हत्या गर्न तयार भएको उनको बयान छ । वीरभानलाई कुटपिट गरेर हत्या गर्नुअघि पाटनबजारदेखि ल्याएर खेतमा बसी भर्जिन नामको क्वाटर तीनवटा, आँप, पानी र चुरोट खाएको पनि उनले बयानमा खुलाएका छन् । त्यसपछि भागरथीले वीरभान तेस्रो तलामा रहेको भनेको र योजनामुताविक चिर्कटो प्रहार गरी हत्या गरेको पनि बयानमा उल्लेख छ ।

र, प्रहरी अनुसन्धानको क्रममा मृतक वीरभान भागरथीको नातामा कान्छा ससुरा रहेको खुलेको छ । उनीहरूबीच झण्डै ११ वर्ष अनैतिक सम्बन्ध रहेको गाउँलेहरूले समेत चाल पाएका थिए । अन्तत: गर्भपतन गर्ने मामिलामा भएको विवादपछि सिर्जित तनावले घटना भएको देखिएको प्रहरीको निष्कर्ष छ । प्रहरीले मृतक वीरभानको मोबाइल भागरथीबाटै बरामद गरेको छ ।