उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् । आज सोमबार दिउँसो कार्यभार सम्हाल्दै मन्त्री पौडेलले वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने पहिलो निर्णय गरेका हुन् ।
ब्लेन्डेड फाइनान्स, ग्रिन क्लाइमेट फन्डलगायत वैकल्पिक वित्तीय स्रोत प्राप्ति र प्रयोगसम्बन्धी कार्यविधिले ती स्रोत लिन सहज हुनेछ । विकास वित्तको विकल्पका रुपमा यो आएको मन्त्री पौडेलले बताए । उनले अस्थिरताका कारण अर्थतन्त्रमा समस्या देखिएको बताउँदै भने, ‘अस्थिरताका कारण अर्थतन्त्रमा समस्या देखिएको थियो । नयाँ गठबन्धन आएपछि अब स्थिरता हुनेछ ।’
उनले विगतमा जनताको आत्मविश्वास समेत टुटेको पाइएको बताए । अब भने निरासा चिर्ने र आशा जगाउने काम हुनेमा उनले प्रतिबद्धता जनाए । मन्त्री पौडेलले सेयर बजार अर्थतन्त्रको ऐना रहेको भन्दै उनले अनुकुल परिस्थिति बनाउनेतर्फ आफू लाग्ने बताए । उनले पछिल्ला केही दिनमा जनतामा उत्साह भने देखिएको बताएका छन् । सेयर बजार सन्तुलित ढंगले अघि बढाउने गरी काम गर्ने बताएका छन् ।


















