जाजरकोटमा पहिरोमा परी गम्भीर घाइते चारजनाको हेलीबाट उद्धार

जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरामा पहिरो खस्दा चार जना घाइते भएका छन् । मंगलबार राति ९:३० बजेको समयमा कुशे गाउँपालिका-८ को दल्लेनामा टहरा माथिबाट पहिरो खस्दा चार जना गम्भीर घाइते भएका थिए ।

नेपाली सेनाको हेलिकप्टरबाट घाइतेहरुलाई थप उपचार गर्न बुधबार कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएको हो । कुशे गाउँपालिका-८ का वडाध्यक्ष डिल्लीबहादुर सिंहका अनुसार घाइते हुनेमा कुशे गाउँपालिका-८, दल्लेनाका २९ वर्षीय कमला थापा, ३५ वर्षीय दलसरी थापा तथा उनकी चार वर्षीया छोरी इस्तिका थापा र १७ वर्षीया छोरी निर्माया थापा रहेका छन् । उनीहरुको शरीरमा गम्भीर चोट लागेको उनले बताए ।

स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले समन्वय गरी नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको वडाध्यक्ष सिंहले बताए । मनसुन सक्रिय भएसँगै वडामा एक सय ५० भन्दा बढी ठाउँमा पहिरो गएको उनले जानकारी दिए ।

भूकम्पका कारण जोखिम कम रहेका ठाउँमा पनि पहिरो जान थालेको वडाध्यक्ष सिंहले बताए । सरकारले अस्थायी आवास निर्माणका लागि दोस्रो किस्ता रकम नदिनु र भवन निर्माण कार्यविधि नबन्दा थप समस्या भएको उनको भनाइ छ ।