संविधानको मर्म र भावनालाई नखुम्च्याइकन संशोधन हुन्छ – महत

काठमाडौं ।  नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले संविधान संशोधनमार्फत समावेशिताको अधिकारलाई अझै सुनिश्चित गर्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित वर्तमान संविधान र समाजवादउन्मुख लोकतन्त्र विषयक विचार गोष्ठीमा बोल्दै सांसद महतले संविधान संशोधनको नाममा समावेशितामा कुनै सम्झौता नहुने जिकिर गरेका हुन् ।

उनले समावेशिता सुनिश्चित गर्ने अझ राम्रा उपायहरू रहेको उल्लेख गर्दै समावेशितालाई कटौती गर्ने नभई हरेक वर्ग, समूहका व्यक्तिलाई प्रत्यक्ष रूपमा जनतामा गएर निर्वाचित भई आउने व्यवस्था गर्ने बताए ।

उनले वर्तमान संविधानको मूल मर्म र भावनालाई नखुम्च्याईकन, कमजोर नगरीकन संशोधन र सुधार गर्न सकिने
बताए । उनले नेकपा एमाले र काँग्रेससँगको सत्ता सहकार्य जटिल र आवश्यक रहेको बताए ।

महतले परिस्थितिका कारण दुई ठुला पार्टी एक ठाउँमा हुन परेको बताए । समाजवाद, लोकतन्त्र, कानुनी शासनको सुनिश्चिततामा सरकारले ध्यान दिने पनि बताउँदै महतले पार्टी र व्यक्ति भन्दा माथि उठेर देश र जनताको लागि काम गर्नुपर्ने बताए ।