जनताले प्राप्त गरेको अधिकार कसैले खोस्न सक्दैन अध्यक्ष प्रचण्ड

काठमाडौँ, १२ साउन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले प्राप्त गरेको अधिकार खोस्ने जमर्को भए त्यसको प्रतिवाद गरिने बताउनुभएको छ ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानसभाबाट निर्माण भएको संविधानमा प्राप्त भएका जनताका अधिकार कोही कसैले पनि खोस्न नसक्ने उल्लेख गर्नुभयो ।

उहाँले आदिवासी, जनजाति, महिला, दलित, अल्पसङ्ख्यक समुदायलाई थप अधिकार सम्पन्न बनाउन संविधान संशोधन गर्नुपर्ने आफूहरुको मत रहेको र पछिल्लोपटक संसद्मा सम्बोधन गर्दासमेत त्यही विषयलाई केन्द्रित गरेको बताउनुभयो ।

संविधन संशोधनको नाममा प्रतिगमनतिर लैजाने काम गरिए त्यो आफूहरूलाई सह्य नहुने अध्यक्ष दाहालको भनाइ छ । संविधान संशोधनको सैद्धान्तिक विरोध नभए पनि जुन तरिकाका साथ दुई दल ९नेपाली कांग्रेस र नेकपा ९एमाले० अगाडि बढ्न खोजेका छन् त्यसले भने आफूहरूलाई संशय पैदा गरेको उहाँको कथन छ ।

संविधानका मूलभूत प्रस्तावनालाई परिवर्तन गर्न खोज्ने, समावेशिता र समानुपातिक प्रतिनिधित्व, सङ्घीयता र गणतन्त्रको सकारात्मक पक्षलाई कमजोर पार्न खोज्ने प्रवृत्ति देखापरेको अध्यक्ष दाहालको भनाइ छ । उहाँले भन्नुभयो “संसद्को पहिलो र दोस्रो ठूलो दल मिल्नु स्वाभाविक मानिँदैन, लोकतन्त्रमा त झन् मानिँदैन तर त्यो अभ्यास गर्न खोजिएको छ ।”

पछिल्ला दिनमा ‘थ्रेसहोल्ड’ बढाएर साना पार्टीलाई निस्तेज पार्ने र ‘तथाकथित’ रूपमा दुई दलीय प्रणाली ल्याएर पश्चिमा देशको जस्तो जबर्जस्ती गर्न खोजिएको आरोप लगाउँदै अध्यक्ष दाहालले त्यहीमार्फत देशलाई अधिनायकवादतर्फ लैजाने कोसिस भइरहेको टिप्पणी गर्नुभयो । नेकपाका संस्थापक महासचिव पुष्पलालको योगदानलाई केन्द्रमा राखेर पुनः वामपन्थी शक्तिबीचको एकता प्रक्रियालाई अगाडि बढाउन उहाँले सबैलाई आह्वान गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा वामपन्थीहरूबीचको एकता, सहकार्यलाई थप सक्रियताका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलनभित्र देखापरेको अराजकता र व्यक्तिकेन्द्रित अहङ्कार र जनताको अधिकार खोस्न खोज्ने प्रवृत्तिका विरुद्ध साझा प्रतिवादको जरुरी रहेको बताउनुभयो ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रमबाट मात्रै मुलुकमा देखापरेको राजनीतिक, आर्थिक, सामाजिक समस्याको समाधान हुने बताउनुभयो ।

नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणको लक्ष्यसहित कार्यक्रम अगाडि बढाउन सबै वामपन्थी शक्तिलाई आह्वान गर्नुभयो ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले को सही र को गलत कम्युनिष्ट भन्ने छुट्याउन नै समस्या भएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता भीम रावल, जसपाका नेता राजेन्द्र श्रेष्ठलगायतले पुष्पलालको योगदान र नेपालको कम्युनिष्ट आन्दोलनका बारेमा आफ्नो धारणा राख्दै समसामयिक राजनीतिक विषयमा टिप्पणी गर्नुभयो ।
–––