गत वर्ष अक्टोर ७ मा दक्षिणी ईजरेलमाथि धावा बोल्ने हमासको निर्णय यति आत्मघाती होला भनेर न हमासका नेतृत्वकर्ताले सोंचेका थिए नत हमासका पृष्ठपोषकहरुले नै कल्पना गरेका थिए । इजरेलमाथिको त्यही एक छिनको हमलाको परिणाम आज गजा खण्डहरमा परिणत भएको छ भने आक्रमण गरेको २९७ दिनपछि हमासका प्रमुख इस्माइल हनिया नै मारिएका छन् । यसबीचमा प्यालेस्टिनीहरुले ब्यहोर्नु परेको दर्दनाक ब्यथा भूमध्य सागरले समेत सहन सक्दैन ।
स्वतन्त्र प्यालेस्टाइनका लागि विगत ३८ वर्षदेखि जिहाद छेड्दै आएको हमासको बाहिर देखिएका सवैभन्दा परिचित अनुहार थिए हनिया जो ३० जुलाई २०२४ को राती तहरानमा सदाका लागि ढले । र, त्यो पनि जसले सवैखाले सहयोग गर्दै आएको थियो र जसलाई उनी सवैभन्दा नजिक ठान्थे उसकै पाहुना बन्ने क्रममा उनी मारिए । हनियाको “हत्या” को जिम्म अहिलेसम्म कसैले लिएको छैन । इरान र हमासले ठाडै इजरेलमाथि आरोप लगाएका छन् । इजरेली राजनीति तथा सैन्य नेतृत्वले मुख नखोले पनि इजरेल बाहेक अरु कसैले पनि उनको हत्या गरेको होइन भन्ने छर्लङ्ग छ । अक्टोर ७ मा भएको आक्रमणपछि इजरेली नेतृत्वले हमासका लडाकुलाई मात्रै नभई त्यसका राजनीतिक तथा सैन्य नेतृत्वको समुल अन्त्य गर्ने घोषणा गरेको थियो । हनियाले यो बीचमा तीन छोरा, चार नातिनातिना र दुई दिदिबैनी गरी नौ जना त परिवारका सदस्य नै गुमाइसकेका थिए र आफू पनि मारिएपछि उनको परिवारका दश जना इजरेलीबाट मारिएका छन् ।
अक्सर कतारमा बस्ने हनियाको पछिल्लो समय हमासमा भने पकड कमजोर भईरहेको थियो । उनी भन्दा सैन्य प्रमुख फअुदा सिन्वर हमासभित्र शक्तिशाली मानिन्थे । इजरेलसंग युद्धविराम गराउने पटक पटकका प्रयासमा पनि हनिया सहमतिमा आउने तर सिन्वरले अस्वीकार गर्ने गर्दा युद्धविराम हुन सकेको थिएन । तैपनि वार्ता र संवादका लागि उनी नै माध्यम थिए । एक पटक प्यालेस्टाइनको निर्वाचित प्रधानमन्त्री समेत बनेको अभुभव भएका हनिया हमासभित्र अरु भन्दा ज्यादा राजनीतिक थिए भनिन्थ्यो । तर उनै मारिएपछि अब पश्चिम एशियामा शान्ति पुनर्वहाली हुने भन्दा पनि अशान्ति कति बढ्ने हो भन्ने त्रास बढेको छ ।
हनियाको हत्यापछि जसरी प्रतिक्रिया आएका छन्, विशेषगरी मुश्लिम देशहरुबाट त्यसले पश्चिम एशिया झन् बढी बल्ने संकेत गरिरहेको छ । अरु त अरु युरोपेली युनियमा रहेको र नेटोको सदस्य रहेको टर्कीले समेत युद्धको धम्की दिएको छ । टर्किस राष्ट्रपति रिसेप एर्दोगानले इजरेल विरुद्ध युद्ध उद्घोष गर्नेहरुलाई टर्कीले सवैखाले सहयोग गर्ने घोषणा गरेका छन् । टर्कीले जस्तै नभने पनि जोर्डनले पनि हनियाको रगत खेर जान दिनु हुदैन भनेर हमासलाई अझै उचालेको छ । हनियाको हत्याबाट सवैभन्दा ठूलो झड्का लागेको इरानले त हत्याको बदला लिने घोषणा नै गरेको छ । मंगलबार विहान आफूसंग भेटवार्ता गरेका हनियाको राती हत्या भएपछि इरानी सर्वोच्च धार्मिक नेता आयोतोल्लाह खोमेनीले इजरेलको नाम नलिई भनेका छन्– “हाम्रै आगनमा हाम्रा प्रिय पाहुनाको हत्या गरेर तिमीहरुले आफ्नो खाल्डो खनेका छौ”। यमनको हुथीदेखि लेबनानको हेजबुल्लाहसम्मले त बदलाको चेतावनी दिने नै भए, बाँकी मुश्लिम देशहरुले पनि इजरेलको कठोर आलोचना गरेका छन् । हनियाको हत्या ठीक हो नभने पनि अमेरिका र अष्ट्रेलियाले यही बहानमा इजरेलमाथि थप आक्रमण भए आफूहरु इजरेलको पक्षमा उभिने बताएका छन् ।
हनियाको हत्यासंगै इजरेल–हमास युद्ध विरामको च्याप्टर तत्कालका लागि बन्द भएको छ भन्ने धेरैको विश्लेषण छ । वार्ताको मध्यस्थकर्ता इजिप्ट र कतारले समेत निराशा ब्यक्त गरको छन् । हमासलाई यसै पनि तत्काल वार्ता र युद्ध विराम गर्नु आत्मघाती हुने भयो । हमासलाई पक्षपोषण गर्दै आएको इरानका लागि पनि इजरेलसंग युद्ध विराम नगराउन ठूलो बहाना मिल्यो भनिंदैछ । यत्रो हत्यापछि वार्ता र युद्धविराम गर्दा चोट खाएपछि ठाउँमा आएको अर्थ लाग्नसक्ने भएकाले पनि चार छ महिना युद्ध थप भड्किन सक्ने आँकलन गरिंदैछ । इरान र हमासका लागि मात्रै होइन, इजरेली नेतृत्वलाई पनि अब वार्ता भन्दा मारेरै सक्ने भन्ने घमण्ड पलाउन सक्ने संभावना छ । देशभित्र चर्को विरोधको सामना गरिरहेका इजेरेली प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुलाई आफ्नो अडान ठीक छ भन्ने पुष्टि गर्ने अवसर पनि यो बनेको छ । बरु यो द्वन्दको अग्नि परीक्षामा इरान छ । इरानी नेतृत्वले साँच्चि नै बदलाको कदम चाल्यो भने पश्चिम एशियामा अर्को आगो बल्ने निश्चित छ ।


















