रकम अभावले सहकारी पीडितको मृत्यु भएको भन्दै शवसहित विरोध प्रदर्शन

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले शवसहित र्‍याली निकालेको छ । रकम अभावमा सहकारी पीडितको मृत्यु भएको भन्दै महासंघले र्‍याली निकालेको हो । मृतक पीडित ८० वर्षीय राजेन्द्र स्थापितलाई ब्रेन ह्यामरेज भएको थियो । पाँच लाख रूपैयाँ नहुँदा स्थापितको उपचार नै नभई मृत्यु भएको दाबी संघले गरेको छ । संघका अनुसार चार दिनसम्म उनको उपचार भएको थिएन भने शनिबार बिहान स्थापितको मृत्यु भएको थियो ।

कुनै सन्तान नभएकोले स्थापितकी श्रीमतीको संरक्षणको लागि सरकारले पहल गरिदिनुपर्ने महासंघको भनाइ छ । स्थापितले युवा विकास बहुउद्देश्यीय सहकारी संस्थामा राखेको एक करोड ३६ लाख रूपैयाँ फिर्ता पाउन नसकेको महासंघले उल्लेख गरेको छ। महासंघले मृतकको शवसहित माइतीघर मण्डलासम्म र्‍याली गर्नेछ।