अघिल्लो महिना नेकपा (माओवादी केन्द्र) फेरि फुट्न लागेको सनसनीपूर्ण एउटा खबर फैलियो । फुट्दाफुट्दा पार्टीको अस्तित्व नै सङ्कटपूर्ण अवस्थामा आइपुग्दा फैलिएको यस्तो खबरले माओवादी नेता कार्यकर्ताहरू बेचैनीमा परे । सार्वजनिक भएका खबरहरूमा उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउन लागेको भनिएको थियो । पार्टी एकढिक्का हुनुपर्छ भन्ने नेता कार्यकर्ताको उनलाई फोन तारान्तार आयो । जवाफ दिँदादिँदा जनार्दन हत्तु भए ।
उनै शर्माले जारी स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सोधेका छन्– पार्टी फुटाएर एमालेमा जाँदैछ भनेर किन प्रचार गरियो ?
शर्माले पार्टी फुटाउँदैछ भनेर प्रचार गरी अध्यक्ष प्रचण्डले कार्यकर्ता पंक्तिमा भ्रम र त्रास सिर्जना गराएको बताएका छन् । अध्यक्ष प्रचण्डकै ग्राण्ड डिजाइनमा आफूविरुद्ध षड्यन्त्र गरेको आरोप उनको छ । शर्माले आफूविरुद्ध खुमलटारबाट षड्यन्त्र सुरु भएको र बालुवाटार पुगेपछि तीव्र भएको दाबी गरेका छन् । ‘खुमलटारबाट एमालेमा जाँदैछ भनेर सुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइयो । उक्त प्रचारबाजीलाई मद्दत पुग्नेगरी पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फूटतिर उन्मुख छ कसैलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरूलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो ।’
शर्माले आफूविरुद्ध उठेका प्रश्नबाट पन्छिन प्रचण्डले आफ्नाविरुद्ध हल्ला गराएको पनि आरोप लगाए ।
‘मूल नेतृत्वबाटै यस प्रकारको गतिविधि हुनुको पछाडि केही प्रश्नहरू छन् । ती प्रश्नहरूको जवाफ दिने झन्झटतिर लाग्नुभन्दा आमपंक्तिलाई तरङ्गित पार्ने विषय हालिदिएर ध्यान अर्कैतिर मोड्ने उद्देश्य रहेको छ ।’ अध्यक्ष दाहालले ससाना अन्तरविरोध समाधान गर्न झन् ठूलो अन्तरविरोध सिर्जना गरेको पनि शर्माको टिप्पणी छ । यसलाई शर्माले गलत भनेका छन् । उनले अध्यक्ष प्रचण्डमाथि जारी स्थायी कमिटी बैठकमा १३ वटा प्रश्न गरेका छन् । उनले पार्टीको आठौँ महाधिवेशनको समापन पूर्व नै विशेष महाधिवेशनको घोषणा गरेर आठौँ महाधिवेशनको महत्वलाई हलभित्रै समाप्त गरेको भन्दै प्रश्न उठाएका छन् ।
उनले प्रचण्डले महाधिवेशनमा बोल्नै नदिएको विषयलाई पनि उप्काए । ‘पार्टीलाई विधि र पद्धतिमा लैजाने संकल्पको रुपमा आयोजना गरिएको विधान महाधिवेशन हलमा उत्साहका साथ भएका छलफल र हलको अभिमतलाई अस्वीकार गर्दै फक खालको घोषणा र विधान सम्मेलनभन्दा महाधिवेशन ठूलो हो जे गर्नुछ, त्यहीबाट गर्नुपर्छ भनी विधान महाधिवेशनको महत्वलाई ठाउँको ठाउँ समाप्त गरेको र सो अधिवेशनमा बोल्नसमेत नदिइएको प्रश्न छ’, शर्माले भने ।
अध्यक्ष दाहाल प्रधानमन्त्री छँदा बारम्बार आफूू र अर्का उपमहासचिव वर्षमान पुनविरुद्ध बालुवाटारबाट दुष्प्रचार गरिएकोमा पनि शर्माको असन्तुष्टि छ । उनले प्रचण्डले आफूूविरुद्ध प्रतिशोध नै साँधेको पनि बताए । त्यसका लागि राज्यशक्तिको प्रयोग गर्न खोजेको खुलाए । पार्टी फुटाउन प्रचण्ड आफैं लागिपरेको पनि आरोप लगाए ।‘पार्टीभित्र विभिन्न तहका नेताहरूलाई जुटाउन हैन फुटाउनको लागि गरिने मिहिनेतबारेको प्रश्न छ’, शर्माले बैठकमा बुझाएको लिखित प्रश्नावलीमा छ, ‘नेतृत्व तहबाटै समानान्तर कमिटीहरू सञ्चालन गरिएको बारे प्रश्न छ ।’
गत २८ असारदेखि माओवादी प्रतिपक्षी दलको हैसियतमा छ । माओवादीले भएभरको राजकीय पद सबै गुमाएको छ । यसलाई लिएर प्रचण्डमाथि थप प्रश्न जनार्दनको छ । प्रदेश प्रहरी समायोजन नगरिएकोमा पनि प्रश्न उठाइएको छ । प्रधानमन्त्री, अर्थमन्त्री र योजना आयोग माओवादीबाटै हुँदा पनि साना तथा मझौला आयोजना र बजेट स्थानीय तह र प्रदेशलाई हस्तान्तरण नगरिएको भन्ने पनि जनार्दनको प्रश्न छ ।
यसबाहेक देशको पूर्वी क्षेत्रको प्रदेश कोशीमा जारी पहिचान आन्दोलनबीच कोशी नाममा किरात नाम शब्द जोड्ने विषयमा माओवादीको अहसमति किन भन्दै अर्को प्रश्न पनि शर्माले गरेका छन् । माओवादीले १७ फागुन २०७९ मा बसेको कोशी प्रदेश संसदमा कोशी नाममा मतदान गरेको थियो । जबकि, त्यसअघि माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले किरातबाहेकका प्रदेश नाममा हस्ताक्षर नगर्ने बताएका थिए । आफ्नै प्रतिबद्धताविरुद्ध उनले मतदान गरेका थिए । जसले गर्दा माओवादी त्यहाँ सर्वाधिक आलोचित भयो । पहिचान पक्षधरहरूले लगातार आन्दोलन गरे ।
अहिले पनि जारी छ । यसकारण, कोशीमा माओवादीभित्र ठूलो पंक्ति किरात नाम थप्नुपर्ने पक्षमा छन् । तर, माओवादी अध्यक्ष प्रचण्डले आधिकारिक रुपमा किरात नाम जोड्न अस्वीकार गर्दै आएका छन् । यही विषयलाई पनि जोडेर माओवादी उपमहासचिव शर्माले स्थायी कमिटी बैठकमा प्रचण्डलक्षित प्रश्न गरेका हुन् । उनले आफ्नो राजनीतिक जीवन सक्न प्रचण्ड पूरापूर लागेको भन्दै आक्रोश पनि ओकलेका छन् । पछिल्ला समय प्रचण्ड–जनार्दन सम्बन्ध पूरै बिग्रेको छ । यतिसम्मकी प्रचण्डले शर्मालाई जेल कोच्न अख्तियार लगाउने तयारीसमेत गरेको आफूूले थाहा पाएको बताए ।


















