यसरी बिदेश पुग्यो नेपाली शेयर बजारको चार खर्ब रुपैया !

काठमाडौ । पछिल्लो समय नेपाली शेयर मार्केटमा घुमारो बाटोबाट भारतीय लगानी भित्रिएको बुझिएको छ । भारतीयहरुले घुमारौबाटोबाट लगानी गरेको पैसा नाफा कमाएर सबै शेयर बेचेर नाफा लगेको बुझिएको छ । नेपालबाट पछिल्लो एक महिनामा करीब चार खर्ब रुपैयाँ बराबरको पैसा बाहिरिएको अनुमान छ । साउन २५ पछि भदौ पहिलो साताभित्रको दुई साताको अवधिमा उक्त रकम देशबाट बाहिरिएको बताइन्छ । त्यसकै परिणाम अहिले नेपालको शेयर बजारमा देखिंदै गएको पनि उच्च स्रोतले बताएको छ ।
जब एमाले र कांग्रेसको सरकार बन्यो र अर्थमन्त्रीमा विष्णु पौडेल आउने निश्चित भयो त्यही बेलादेखि ठूला खेलाडी तथा केही भारतीयहरुले शेयर बजारमा पैसा खन्याएका थिए । अर्थमन्त्री पौडेलको दबाव र पहिलेदेखि नै अलिकति लचिलो मौद्रिक नीतिको पक्षमा रहेका गभर्नर महाप्रसाद लामिछानेले थोरै खुकुलो मौद्रिक नीति ल्याएपछि बजारमा एकाएक उछाल आएको थियो । साउन १२ गते मौद्रिक नीति आएपछि भदौ पहिलो ७ गतेसम्म नेपालको शेयर बजार पछाडि फर्किन परेन एकोहोरो माथितिर दौडिएको थियो । त्यही मौका छोपेर ठूला खेलाडी मार्फत छिरेको भारतीयहरुको लगानी एकाएक बाहिरिएको बुझिएको छ । त्यो रकम लगभग चार खर्ब रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ ।
जुन दिनदेखि शेयर बजारको भोल्युम बढेर दैनिक २० अर्ब माथि पुगेको थियो सोही बेलामा खेलाडीहरुले बजारमा पहिल्यै हालेको लगानीलाई लगभग दोब्बर बनाएर पैसा निकालिरहेका थिए । ठूला खेलाडी र अदृष्य लगानीकर्ताहरुले बजार उचाल्दै पैसा निकाल्दै जाँदा नेपाली सर्वसाधारण भने पैसा खन्याईरहेका थिए । साना लगानीकर्ताहरुलाई फसाउनका लागि ब्रोकरहरुले पनि चाहिए जति कोलाटरल राखिदिने र पाँच सात दिनलाई उधारो पनि सजिलै दिने गरिरहेका थिए । खातामा शेयर आउँदा २०,२५ प्रतिशत फाइदा हुने लोभमा सर्वसाधारणले पैसा खन्याईरहेका थिए । यस पटकको शेयर बजारको बढोत्तरीमा पनि खेलाडीहरुले सर्वसाधारणलाई बाख्रा बेचाएर बाँदर किन्न लगाएको चर्चा अहिले बल्ल गर्न थालिएको छ । जब उनीहरु बाँदर भिडाएर निस्के अनि बजार घट्न थाल्यो ।
अर्कोतर्फ यस पटकको बजार बढाईमा ब्रोकरहरु पनि डल्लो परेर बसेका छन् । मनपरी उधारो दिंदा उधारो नउठेर ब्रोकरहरु अहिलेसम्म पनि हैरान देखिएका छन् । साउन मसान्तसम्ममा ब्रोकरहरुले उठाउनु पर्ने उधारो रकम ७७ अर्ब रहेको थियो । यही बुझेपछि धितोपत्र बोर्डले साउन ३० गते ब्रोकरहरुलाई सेटलमेन्टको विस्तृत विवरण पठाउन पत्र पठाएको थियो । त्यसपछि ब्रोकरहरुले उधारो नदिने र कोलाटरल रित्तो गरिदिन थालेका थिए । ब्रोकरहरुले अझै पनि ३० अर्ब रुपैयाँ बढी उधारो उठाउन बाँकी रहेको बुझिएको छ । यस्तै यस्तै कारणले शेयर बजार बुलरनमै भए पनि कम्तिमा आगामी माघ अघि बजारमा ठूलो छलाङ देखिन मुश्किल हुने बताइएको छ । त्यसो त सरकार बन्दा साथ बढेको शेयर बजार पछिल्ला दिनमा बढ्ने भन्दा घट्ने दर बढी छ यद्यपी यो पुन बढ्ला वा घट्ला यसै भन्न सकिदैन ।