काठमाडौँ सांसद सूर्यबहादुर थापा नेतृत्वको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले आज संसद्लाई बुझाउने भएको छ । प्रतिबेदनमारास्वपा सभापति रवि लामिछानेसहित सहकारीको रकम ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिस गरिएको एक सदस्यले बताए । ती सदस्यका अनुसार विभिन्न सहकारीबाट लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा आएका रकम खर्च गर्दा लामिछानेको हस्ताक्षर रहेकाले उनी पनि रकम अपचलनमा संलग्न भएको पुष्टि भएको हो । गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको भेटिएको समितिले जनाएको छ । समितिले गोरखा मिडियामा सहकारीमार्फत पैसा ल्याउने प्रक्रियाको जिम्मा जीवी राईले गरेको पाइएको पनि जनाएको छ । ‘रवि कार्यरत रहेको १४ महिनाको समयमा गोरखा मिडियामा ६५ करोड खर्च भएको छ, जसको हस्ताक्षर रविले गरेका छन् । रवि, जीवी र छवि समेतले गैरकानुनी ढंगले सेयर लिएको, पैसा जम्मा गरेको र भौचर समेत बुझाएको देखिएकोले ‘संलग्नहरूलाई कानुनी कारबाही गर्न समितिले सिफारिस गर्ने सहमति भएको छ’, एक सदस्यको भनाइ छ ।


















