विदेशी शक्ति केन्द्रहरुको चलखेल बढेको छः अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशमा विदेशी शक्ति केन्द्रहरुको चलखेल बढेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित अखिल (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष दाहालले देशमा विदेशी शक्तिकेन्द्रहरुको चलखेल बढ्दै गएको बताएका हुन्।

अध्यक्ष दाहालले संसारभरको वर्तमान राजनीतिक परिस्थिति हेर्दा नेपाल भुराजनीतिको इपिसेन्टर बन्ने अवस्था रहेको बताए । उनले नेपालको राष्ट्रिय स्वाधिनतामाथि दबाब र हस्तक्षेपहरु बढ्दै गएको पनि बताए । प्रतिक्रियावादी शक्तिहरु लोकतन्त्र र संविधानको मूल्य, मान्यतामाथि प्रहार गर्ने गरी अगाडी बढिरहेका उनको भनाई छ ।

अध्यक्ष दाहालले राष्ट्रिय स्वाधिनताको रक्षा वामपन्थी र कम्युनिस्ट शक्तिले मात्रै गर्नसक्ने भन्दै यि शक्तिलाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले भ्रष्टाचारको विरुद्ध महाअभियान छेडेकै कारण आफू नेतृत्वको सरकार ढलेको बताए। उनले आन्दोलनको बलमा केही महिनाभित्रैमा परिस्थिति उल्ट्याउन सकिने विश्वास पनि व्यक्त गरे।

अध्यक्ष दाहालले वामपन्थी एकताको सन्दर्भमा छिट्टै नै नयाँ खबर सुन्न पाइने बताए । उनले सके सहमतीमा र नसके प्रक्रियामा गएर नेतृत्व चयन गर्न विद्यार्थी नेताहरुलाई आग्रह गरे ।