तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा रोपिएको सयपत्री फूल बिक्रीका लागि तयार भएको छ । यान्चोक लघुउद्यम महिला संघले गत साउन २५ गते रोपेको सयपत्री फूल बिक्रीका लागि तयार भएको हो ।
संघले ४० रोपनी क्षेत्रमा सयपत्री रोपेकामा पहिलो चरणमा दश रोपनी क्षेत्रफलको सयपत्री बिक्रीका लागि तयार भएको संघका अध्यक्ष सुन्तली गुरुङले जानकारी दिइन् । उनले भनिन –४० हजार बिरुवा रोपिएको थियो, अहिले १० रोपनी क्षेत्रफलमा सयपत्री फूल बिक्रीका लागि तयारी अवस्थामा छ ।
यान्चोक लघुउद्यम महिला संघमा आबद्ध ७० महिलाले सयपत्रीको फूलखेती गरेका छन् । महिला फूलखेतीमा आकर्षित रहेको बताउँदै उनले भनिन्, ुचाडपर्वलगायत अन्य कार्यक्रमका लागि सयपत्री बाहिरबाट ल्याउन नपरोस् भनेर पालिकाले थालेको अभियानमा हामीले साथ दिएका छौँ, पालिकाबाट पनि हामीलाई सहयोग भएको छ । घरायसी काममा मात्रै व्यस्त महिलालाई स्वरोजगार बनाउने उद्देश्यसहित फूलखेती थालिएको उनको भनाइ छ ।
गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले उत्पादित फूल बिक्रीका लागि पालिकाले सहयोग गर्ने बताए । उनले भने, विगतका वर्षमा पनि बजारीकरणका लागि पालिकाले सहयोग गरेको हो, अहिले पनि फूल बिक्रीका लागि पालिकाले सहयोग गर्नेछ । विभिन्न सभा समारोह, कार्यक्रमका लागि फूल चाहिएमा गाउँपालिकाको कृषि शाखा वा महिला समूहमा सम्पर्क गर्न सकिने केसीले बताए । उनले भने, गत वर्ष पहिलोपटक यसै ठाउँमा सयपत्रीको फूल रोपिएको थियो, उत्पादन राम्रो भयो, यहाँको सयपत्री कतारसम्म पुगेको थियो ।
सयपत्री फूलखेतीबाट महिला कृषक उत्साहित भएको भन्दै यस वर्ष पनि सयपत्री फूलखेतीलाई निरन्तरता दिइएको केसीले बताए । उनका अनुसार गाउँपालिकाले ८५ प्रतिशत अनुदानमा सयपत्री फूलका बिरुवा उपलब्ध गराएको थियो । गाउँपालिकाले आयातीत तथा प्लास्टिकजन्य फूलमाला निरुत्साहित गर्ने प्रयासस्वरुप गतवर्षदेखि सयपत्री फूलखेतीलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । स्थानीय पुष्प व्यवसायीलाई प्रोत्साहित गर्ने उद्देश्यले गाउँपालिकाले गत वर्षदेखि अनुदानको कार्यक्रम अगाडि बढाएको थियो ।
चुमानले भने, -धेरै मात्रामा प्लास्टिकजन्य फूल तथा माला प्रयोग भएको छ, यसले मानवीय स्वास्थ्य र वातावरणलाई समेत असर पुर्याइरहेको छ, स्थानीय स्तरमै फूल उत्पादन गरी बाहिरबाट ल्याउन नपर्ने अवस्था सिर्जना गर्ने हाम्रो उद्देश्य हो । चुमानले तिहारमा विदेशी प्लास्टिकका फूल तथा झिलीमिलीको सट्टा स्थानीय स्तरमा उत्पादित फूल प्रयोगमा जोड दिएको बताए । गाउँपालिकाले स्थानीयस्तरमा हुने कार्यक्रममा पनि सयपत्री फूलको माला प्रयोगमा जोड दिएको चुमानको भनाइ छ । उनले भने,पालिकाभित्र हुने हरेक कार्यक्रममा कृत्रिम फूललाई विस्थापित गर्छौं, यहीँ उत्पादित फूललाई प्रयोगमा ल्याउँछौँ ।



















