राणाको पद खोस्दा राप्रपामा चुलियो मतभेद

गिजामा क्यान्सर भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री डा. धवलशम्शेर जबरा भारतको मुम्बईस्थित टाटा मेमोरियल हस्पिटलमा उपचारत छन् । राप्रपा प्रवक्ता सगुनसुन्दर लावतीका अनुसार जबराको क्यान्सर पहिलो चरणको रहेको चिकित्सकले बताएका छन् । उनी उपचारपछि कहिले स्वदेश फर्किन्छन् भन्ने टुङ्गो छैन । तर, यता भने उनको पार्टी सङ्गठन विभाग प्रमुख पद खोसिएको छ । उनलाई उक्त पदबाट अध्यक्ष राजेन्द्र लिङ्देनले हटाएका हुन् ।

उनको ठाउँमा लिङ्देनले वरिष्ठ नेता बुद्धिमान तामाङलाई मनोनयन गरे । लिङ्देनले बिरामी परेर अस्पतालको शैयामा रहँदा राणालाई सङ्गठन विभाग प्रमुखबाट हटाएपछि राप्रपाभित्रमा असन्तुष्टि चुलिएको छ । मानवीय संवेदना र पार्टी विधानलाई समेत ख्याल नगरी राणालाई हटाएको भन्दै पार्टीमा मूलत: संस्थापनइतर पक्ष असन्तुष्ट छ । यस पक्षको नेतृत्व डा. राणा नै हुन् । राणालाई संगठन विभाग प्रमुखबाट हटाइएकोमा पूर्वअध्यक्षहरू पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले लिङ्देनको आलोचना गरेका छन् । पार्टीमा मतभेद चुलिएको छ ।

पार्टी उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुुन्ती शाहीलगायत पनि लिङ्देनको कदमप्रति सकारात्मक छैनन् । अध्यक्ष लिङ्देनले महामन्त्री राणालाई सङ्गठन विभाग प्रमुखबाट हटाएपछि डा. लोहनीले कडा शब्दमा विरोध गरेका छन् । लोहनीका अनुसार राणालाई हटाउने कार्य विधानविपरीत हो । राणालाई संगठन विभाग प्रमुखबाट बिरामी भएकै बेला हटाउनुलाई लोहनीले अध्यक्ष लिङ्देनको ‘अविवेकी र अमानवीय निर्णय’ पनि भनेका छन् । बिरामी राणालाई तनाव दिने काम भएको र यसप्रति आफ्नो असहमति रहेको लोहनीको भनाइ छ ।

हुन पनि राप्रपाको संशोधित विधान २०७८ ले अध्यक्षलाई विभाग र समिति गठन वा जिम्मेवारी हेरफेर गर्न स्वन्तत्रता दिएको छैन । विधानमा केन्द्रीय समितिको ‘सल्लाह’लाई अनिवार्य गरेको छ । विधानको २०७८ को परिच्छेद– ४ मा अध्यक्षको काम, कर्तव्य र अधिकारको (घ) मा भनिएको छ– आवश्यकताअनुुसार ‘सल्लाह’ले केन्द्रीय तहमा पार्टीको विभिन्न प्रयोजनका लागि समिति, विभाग, आयोगहरू गठन गर्ने र काम, कर्तव्य र अधिकार तोक्ने ।

विधानको यस प्रावधानले सङ्गठन विभाग प्रमुख राणालाई हटाउनु अध्यक्षको अधिकार नभएको देखाउँछ । यदि, कुनै विभागको जिम्मेवारीमा रहेकालाई अनुशासनको कारबाही गरेर हटाउनु परे त्यससम्बन्धी प्रस्ताव केन्द्रीय समितिमा प्रस्तावको रूपमा पेस गर्नुपर्ने हुन्छ । केन्द्रीय समितिले अनुमोदन गरेपछि मात्रै हटाउन मिल्ने पार्टीका एक जना पदाधिकारीले बताए । तर, राणाको हकमा अध्यक्ष लिङ्देन स्वेच्छाचारी र बदलाभावले प्रेरित देखिए ।

विधानको २४ (झ) मा पार्टीका विभागहरूको काम, कर्तव्य र अधिकार पनि केन्द्रीय समितिले तोक्ने उल्लेख छ । तर, विधानविपरीत लिङ्देनले विभागमा हेरफेर गर्ने र जिम्मेवारी दिने कार्य गरेको भन्दै राणापक्षको विरोध छ । २०७८ मा पार्टीको एकता महाधिवेशनअघि भने राप्रपाको विधानमा अध्यक्षले विभागीय प्रमुख तोक्ने अधिकार थियो । तत्कालीन अध्यक्ष कमल थापाले विभागीय प्रमुख मनोनित गर्नेदेखि हटाउने गर्थे ।

तर, महाधिवेशनबाट अध्यक्षमा निहित यस्तो अधिकार विधान संशोधन गरेर हटाइयो । एक नेताका अनुसार तत्कालीन अध्यक्ष कमल थापा फेरि अध्यक्षमा निर्वाचित भए निकट नेताहरूलाई विभागीय प्रमुख तोकेर मनमौजी गर्न सक्ने भन्दै लिङ्देन (तत्कालीन संस्थापनइतर)पक्षले बहुमत जुटाएर उक्त प्रावधान हटाएको थियो । अहिले भने लिङ्देन स्वयं विधानविपरीत विभागीय प्रमुख मनोनयन गर्नेदेखि हेरफेर गर्न सरिक भएका छन् । राप्रपाको विधानमा ४३ वटा विभाग छन् । यीमध्ये सङ्गठन विभाग सर्वाधिक महत्वपूर्ण मानिन्छ । कारण, सङ्गठन विभाग प्रमुखको स्वाभाविक रूपमा सङ्गठनमा पकड हुन्छ । सोही भूमिकामा रहेका राणालाई हटाएर अध्यक्ष लिङ्देनलाई निकट नेता तामाङलाई जिम्मेवारी दिए ।

तामाङ गत महाधिवेशनअघिसम्म कमल थापा पक्षमा थिए । लिङ्देन पक्षमा उनी खुलेको धेरै भएको छैन । यसअघि उनी पार्टीमा राजनीतिक विभाग प्रमुख थिए ।
विभागीय प्रमुख हेरफेर गर्ने विषयलाई संस्थापन पक्षले भने अध्यक्षको अधिकार भन्दै आएको छ । महामन्त्री राणा पार्टीको केन्द्रीय आन्दोलन परिचालन समिति संयोजकसमेत भएकाले उनी दोहोरो भूमिकामा रहेको र सङ्गठन विभाग प्रमुखबाट हटाइएको पनि तर्क गर्दै आएका छन् ।

पशुपतिको भारत भ्रमण स्थगित

राप्रपा नेता पशुपतिशम्शेर राणा पार्टीमा मतभेद नचुलिएको भए शुक्रबार नै भारत पुग्थे । ससुराली भारत रहेका राणा दसैँअघि भारत पुुगेर आउन चाहन्थे । बिहीबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री डा. धवलशम्शेर राणालाई सङ्गठन विभाग प्रमुखबाट हटाएपछि विकसित राजनीतिक परिस्थितिपछि भने उनको भारत भ्रमण रोकियो । उनलाई हालै धवलपक्षीय पार्टीको दोस्रो तहका नेताहरूको ठूलो पंक्तिले भेटेर सङ्गठन विभाग प्रमुखबाट धवललाई हटाउने अध्यक्ष लिङ्देनको कदमले पार्टीमा विभाजनको रेखा कोर्न सक्ने भन्दै चिन्ता प्रकट गरे । भेटमा सहभागी एक नेताका अनुसार पशुुपति पनि चिन्तित देखिएका थिए । उनको भनाइ उदृत गर्दै एक नेताले भनेका छन्, ‘मनोनयन गरेको पत्र सार्वजनिक भइसक्यो । नभएको भए पनि कुरा गर्न सकिन्थ्यो अब समस्या आयो ।’ राप्रपा)मा पछिल्ला दिनमा पार्टी नै विभाजन हुनेगरिको अन्तरसङ्घर्ष चुलिएको छ । अध्यक्ष लिङ्देनले पार्टीमा इतर पक्षको नेतृत्व गर्ने महामन्त्री डा. धवलमाथि कारबाहीको डण्डा चलाएका छन् ।