गीतकार गजेन्द्र राईको शब्द रहेको तामाङ सेलो गीत ‘लास्सो ! फ्याफुल्ला’ को म्युुजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा अभी लामा र अनिता गोलेले अभिनय गरेका छन् । गीतमा गायक दिवस राई र गायिका डोमा शेर्पाको स्वर रहेको छ ।
एसएलएमजे अनलाइन साङ्गीतिक परिवारको छैठौँ प्रस्तुति रहेको सेलो गीतमा सङ्गीत संयोजन विश्व दोङले गरेका छन् । म्युुजिक भिडियोको निर्देशन अभी लामाले नै गरेका हुन् । लामो समयदेखि पूर्वेली लोकगीत लेख्दै आएका गजेन्द्रको ‘लास्सो ! फ्याफुुल्ला’ भने पहिलो तामाङ सेलो गीत हो ।
एसएलएमजे युट्युब च्यानलबाट सार्वजनिक उनको यो गीत श्रोता दर्शकले औधी रुचाएका छन् । च्याङ्बा (कान्छा)ले माइच्याङ (कान्छी)लाई घरजम गर्न ‘कन्भिन्स’ गरेको प्रसङ्गलाई गजेन्द्रले गीतमार्फत कलात्मक रूपमा प्रस्तुत गरेका छन् । विद्यालयकालमा उनी प्रत्यक्ष लोकदोहोरी गायनमा समेत अब्बल मानिन्थे । उनी हाल प्रवासमा छन् । मूलत: गीत लेखनसँगै गायनमा उनको योगदान छ । पाँचथरको तुम्बेवा–२ मेवामा जन्मिएका उनी हाल इलामको सूर्योदय नगरपालिकाको फिक्कल निवासी हुन् । उनी कविता र गजल पनि घरिघरी लेख्छन् ।



















