दुर्गा विसर्जन गरेपछि टीकाको क्रम शुरु हुन्छ । सुरुमा कुलदेवता, पितृदेवतालाई टीका चढाउने गरिन्छ । कतिपय ठाउँमा घरको मूल ढोकामाथि टीका लगाइदिने भन्ने परम्परा छ । त्यसपछि मान्यजनबाट टीका लगाइन्छ ।
दुर्गा विसर्जनपछि कलशको जल अत्यन्त पवित्र हुन्छ भन्ने धार्मिक मान्यता छ । कलशमा राखेको जल लिएर तयारीका साथ इष्टदेवता, कुलदेवतालाई सम्झेर जमरा काटिन्छ । दैलामाथि टीका लगाउने गरिन्छ । हाम्रो घरपरिवारमा गुरुपुरोहित स्थापना गरेको भए गुरुपुरोहितबाट, नभए मान्यजनको हातबाट टीकाजमरा लगाउने चलन छ । त्यसपछि मात्र अन्य मान्यजनबाट टीका लगाउने चलन छ ।
साइत नै खोजेर उपयुक्त समयमा टीका लगाऊँ भन्नेका लागि ११ बजेर ३६ मिनेटमा उत्तम साइत छ । कसैलाई हतारो भएमा, टाढा जानुपर्ने बाध्यात्मक अवस्थामा बिहान झुल्के घाममा टीका लगाउने चलन छ । पहिलेदेखि नै दशैंको दिन जतिबेला पनि टीका लगाए हुन्छ भन्ने चलन छ ।
बिहान घाम झुल्केपछि विधिविधानपूर्वक मान्यजनबाट टीका ग्रहण गरेर टाढा रहेका मान्यजनको टीका थाप्न जान कुनै बाधा पर्दैन । ‘त्यसैले टीकाको साइतको दुविधा नपाले हुन्छ,’ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा।डा।देवमणी भट्टराईले भने ।
अहिले त कतिपयहरुलाई दशैंको दिन ढिलोगरी नेपाल आउन पाउने बाध्यता पनि बन्न सक्छ । त्यस्तो अवस्थामा समेत साइत गुज्रिएकाले दुविधा पाल्नु पर्दैन । जतिबेला भएपनि मान्यजनबाट टीकाप्रसाद ग्रहण गर्नु उपयुक्त हुन्छ ।

















