skip this काठमाण्डौं महानगरपालिका ११

बन्द रहेका उद्योगहरु संचालन गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले लामो समयदेखि बन्द रहेका उद्योगहरु सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । प्रेस सेन्टर नेपालको २०औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकलाई आज पर्साको वीरगञ्जमा सम्बोधन गर्दै उनले लामो समयदेखि बन्द रहेका बिराटनगर जुट मिल, हेटौडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटबल धागो उद्योग सञ्चालन गर्ने गरी काम अघि बढाइएको बताएका हुन् ।

उनले भने, ‘हिजो मात्रै हामीले बन्द रहेका ती उद्योग निजी–सार्वजनिक साझेदारी अवधारणअनुरुप सञ्चालन गर्ने निर्णय गरेका छौं । अबको एक हप्ता वा १० दिन भित्रमा बन्द उद्योग सञ्चालन हुने कुरा जनताले थाहा पाउने छन् ।’ कतिपय उद्योगहरु नेपाली सेनाले सञ्चालन गर्ने छ भने कतिपय निजी कम्पनीले चलाउने गरी तयारी भइरहेको उनले बताए ।

जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी, जनता केन्द्रित बनाउने समेत बताएका छन् । आफ्नो ध्यान आगामी वर्षका लागि जनता केन्द्रित र सहभागितामूखि नीति, कार्यक्रम र बजेट निर्माणमा गएको उल्लेख गर्दै उनले लोकतन्त्रको पक्षमा बजेट निर्माण गरेर ‘आमुल सुधार’ गरिने विश्वास व्यक्त गरेका छन् । साथै, नीति तथा कार्यक्रम बनाउँदा स्थानीय र प्रदेश सरकार एवं मन्त्रालयहरूको पनि रायसुझाव लिइने बताउँदै अब नयाँ तबरले सरकार अगाडि बढ्ने बताए ।

सरकारले भ्रष्टाचार, भूमाफिया र मिटरब्याजविरुद्ध सशक्त कदम चालेको भन्दै प्रधानमन्त्रीले सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्र, स्वरोजगारी तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेट्ने महत्वपूर्ण कार्य सरकारले गरेको जानकारी दिए ।

प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटा (जुगल)को अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटा, उपमहासचिव तथा पुर्वमन्त्री मातृका यादव, केन्द्रीय सदस्य लिलामणि पोखरेललगायत नेताले सम्बोधन गरेका थिए । सो अवसरमा प्रधानमन्त्री दाहालले प्रेस सेन्टर नेपालको उत्कृष्ट प्रदेश, उत्कृष्ट जिल्ला र उत्कृष्ट पत्रकारहरुलाई नगद तथा प्रमाणपत्र प्रदान गरे ।