skip this वडा नं १६ बालाजु च:मती

माथिल्लो हस्तक्षेप नसहन सुरक्षा निकायलाई गृहमन्त्री श्रेष्ठको अपिल

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्ना कर्तव्य निर्वाह गर्दा माथिल्लो हस्तक्षेप नसहन सुरक्षा निकायलाई अपिल गरेका छन् । गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले उक्त अपिल गरेका हुन् ।

साथै, मन्त्री श्रेष्ठले अपराध, ठगी र लुटमा लागेका कसैलाई पनि छुट नदिने बताएका छन् । उनले भने, ‘अपराध, ठगी, लुट र जालसाँजीमा कसैलाई पनि छुट दिन सकिँदैन । कुनै पक्राउ पर्नासाथ दबाब भइरहे देशले पनि छुट दिन सक्दैन । आफ्ना कर्तव्य निर्वाह गर्दा कुनै पनि हस्तक्षेप नसहन म सुरक्षा निकायलाई अपिल गर्छु ।’ अपराध, ठगी, जालसाजी र लुटमा पक्राउ परेपछि राज्यका उच्च निकायमा दबाब दिने, नेता तथा प्रभावशाली व्यक्तिलाई भनसुन गर्ने प्रवृत्ति देखा पर्ने गरेको बताउँदै उनले भने, ‘कर्मचारी पक्राउ पर्दा संगठनले दबाब दिने, व्यवसायी पक्राउ पर्दा निजी क्षेत्रले पत्रकार सम्मेलन गरी दबाब दिने प्रवृत्ति हाबी भएको छ । अपराधी कसैलाई पनि छुट दिइने छैन ।’

त्यस्तै, वित्तीय अपराधका कारण नागरिकहरू बेघरबार भएकातर्फ चिन्ता व्यक्त गर्दै उनले वित्तीय अपराध नियन्त्रण गर्न कडाइका साथ उत्रिने बताए । सहकारीबाट हुने ठगी नियन्त्रण गर्न सरकारले ऐन बनाउने, नियमनकारी निकाय गठन गर्ने, बचत तथा सुरक्षण कोष बनाउने, सहकारी विभागमा परेका उजुरीमाथि छानबिन गर्न तत्काल सुरक्षा निकायमा पठाउने गरी सरकारले निर्णय गरेको श्रेष्ठले जानकारी दिए ।