नेपाल लाइफ इन्स्योरेन्सले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफामा १२.९० प्रतिशतको वृद्धि गरेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ४२ करोड ७७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३७ करोड ८८ लाख रूपैयाँ नाफा कमाएको थियो । कम्पनीको दोस्रो त्रैमासिक अवधिसम्ममा कुल बीमाशुल्क आर्जन २० अर्ब ६ लाख रूपैयाँ रहेको छ । जुन गत वर्षको सोही अवधिमा प्राप्त कुल बीमाशुल्क १८ अर्ब ६२ करोड ७२ लाखको तुलनामा ७.३७ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले समीक्षा अवधिमा तीन अर्ब १६ करोड प्रथम बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले दुई अर्ब ६४ करोड रूपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको थियो । नवीकरण बीमाशुल्क १६ अर्ब ८३ करोड रहेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३८ प्रतिशत बढी हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १५ अर्ब ९७ करोड रूपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका थियो । कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा ६८ अर्ब दुई लाख पाँच करोड रूपैयाँ खुद दाबी भुक्तानी गरेको छ । आठ अर्ब २० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १०.४२ रूपैयाँ रहेको छ ।
यस्तै, कम्पनीको प्रति सेयर नेटवर्थ १२८.०१ रूपैयाँ, मूल्य अनुपात आम्दानी ६२.८६ गुणा, प्रति सेयर कुल सम्पत्तिको मूल्य २४ सय एक रूपैयाँ र औसत प्रतिफल दर १०.०२ प्रतिशत रहेको छ ।
















