skip this काठमाण्डौं महानगरपालिका ११

रोहितको उत्कृष्ट बलिङमा क्यानडामाथि नेपालको रोमाञ्चक जित

नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको छ । आज बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएको क्याडना ४७.५ ओभरमा २१७ रनमा अलआउट भयो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले उत्कृष्ट बलिङ गरे । उनले चार विकेट लिए । रोहितले ८.५ ओभरमा २ मेडन राख्दा २२ रन मात्र खर्चिए । क्यानडाका लागि मध्यक्रमका ब्याट्सम्यानद्वय निकोलास किर्टन र पर्गत सिंहले अर्धशतक प्रहार गरे । पर्गतले ५० रन जोड्ने क्रममा तेस्रो विकेटका लागि निकोलास किर्टनसँग ७९ रनको साझेदारी गरे । त्यसपछि हर्ष थाकेरलाई ३२ रन जोड्दा निकोलाससँग चौथो विकेटका लागि ६० रनको साझेदारी गरे । निकोलासले ६० रनको योगदान गरे। पवन सर्राफबाट बोल्ड हुनुअघि उनले ९९ बलमा ७ चौका प्रहार गरे । निकोलासले गरेको दुई महत्वपूर्ण साझेदारीले क्यानडा बलियो अवस्थामा पुगेको थियो ।

नेपालले ४४ ओभरको अन्तिम बल र ४५ ओभरको दोस्रो बलमा विकेट लिँदै तीन बलको अन्तरमा दुई विकेट लिदा खेल रोमाञ्चक मोडमा पुगेको थियो । सुरुमा क्यानडाका उदय भगवानलाई नेपालका कप्तान रोहित कुमार पौडेलले ६ रनमा बोल्ड गरे । तीन बलपछि ललित राजवंशीले क्यानडाका साद बीन जोफरलाई एलबिडब्लूको धरापमा पारे ।

यस्तै, नेपालका ललित राजवंशीले डिलोन हेलिङ्गरलाई नवौं विकेटको रुपमा २ रनमा एलबिडब्लूको धरापमा पारे । त्यतिबेला क्यानडालाई जितका लागि १९ बलमा १३ रन चाहिएको थियो भने १ विकेट मात्र बचेको थियो । यसपछि ६ रन बनाएको क्याडनाका इश्वर सोधीलाई नेपालका कप्तान रोहित पौडेलले ४७.५ ओभरमा शून्यमा बोल्ड गर्दा नेपालले रोमाञ्चक जित हात पार्यो । त्यसअघि क्याडनाका ओपनरद्वय आरोन जोनसन २० रन र नवनीत धलिवाल ६ रनमा आउट भए ।

रिजन ढकालले धलिवाललाई विकेट पछाडि आसिफ शेखबाट क्याच गराए । रिजनले डेब्यू खेलमै विकेट लिए। बायाँ हाते तीव्र गतिका बलर रिजनले आफ्नो स्पेलको पाँचौ बलमा विकेट लिन सफल भए । यस्तै सोमपालले जोनसनलाई एलबिडब्लूको धरापमा पारे ।

नेपालले फागुन पहिलो साता आइसिसी विश्वकप लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो । अब नेपालले दोस्रो खेल शनिबार र अन्तिम खेल सोमबार खेल्नेछ ।