प्रहरीको भ्यानबाट खसेर एक प्रहरीको मृत्यु भएको छ । काठमाडौंस्थित प्रहरी प्रभाग बलम्बुमा कार्यरत प्रहरी सहायक हवल्दार हेमराज एलजीको चेकिङ ड्युटी सकेर फर्किने क्रममा प्रहरी भ्यानबाट खसेर मृत्यु भएको हो ।
चेकिङ ड्युटी सकेर मोबाइल ड्युटीमा खटिएका सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं.१२ सुवाकोट घर भई प्रहरी प्रभाग बलम्बुमा कार्यरत ३५ वर्षीय सहायक हवल्दार एलजीको मृत्यु भएको प्रहरीले जनाएको छ । बलम्बु प्रहरी कार्यालयको बा १ झ७४१८ नम्बरको प्रहरी भ्यानमा ड्युटीको क्रममा नैकाप तर्फबाट प्रहरी कार्यालय बलम्बुतर्फ आउने क्रममा सवा ११ बजे तिर बल्खु खोला सिप्रदीनजिक उक्त भ्यानको पछाडिबाट अकस्मात खस्दा उनी घाइते भएका थिए ।
तत्कालै उनलाई घटनास्थल नजिकै रहेको मेड पोइन्ट अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि नेपाल एपिएफ अस्पतालमा लगेर उपचार गराउँदा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक एलजीको शव पोष्टमर्टमको लागि टिचिङ शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।






















