कृषि तथा पशुपन्छी विकासमन्त्री डा.वेदुराम भुसालले दुग्ध किसानका समस्या समाधान गर्न सरकार लागिपरेको बताएका छन् । चितवनमा हुन लागेको राष्ट्रिय चिया प्रदर्शनीको उद्घाटनमा जाने क्रममा आज शुक्रबार चितवनस्थित भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री भुसालले अहिले दूध उत्पादन बढी भएकाले दुग्धजन्य उत्पादन बिक्रीमा समस्या भएको बताएका हुन् ।
‘अहिलेको नेपालमा दूध बढी उत्पादन गर्ने समय हो । दूध बढी उत्पादन हुने समयमा हामीले पाउडर र बटर बनाएर राख्न सक्छौँ । अहिले खपत हुन नसकेको दूध पाउडर वा बटर बनाएर राखौँ । फागुन लागेपछि दूध बिक्रीमा समस्या हुँदैन’, मन्त्री भुसालले भने । उनले भण्डारण भएर रहेको पाउडर दूध बिक्री भएपछि किसानको बाँकी भुक्तानी प्रदान गरिने बताए । ‘फागुन लागेपछि भण्डारण भएको दूध बिक्री हुन्छ । त्यसपछि किसानले रकम पाउनुहुन्छ’, मन्त्री भुसालले भने, ‘अहिले पनि केही रकम त पाइरहनुभएको छ । बाँकी फागुनभित्रमा पाउनुहुन्छ ।’
चितवनका किसानले तीन महिनादेखि दूधको रकम पाउन सकेका छैनन् । भण्डार भएको दूध बिक्री नभएपछि चिवतन मिल्क उद्योग बन्द भएको छ ।


















