विदेशी मुद्रासहित दुबई जान लागेकी एक युवतीसहित दुई जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज सोमबार काठमाडौंबाट दुबई जान लागेकी सिन्धुपाल्चोक जुगल गाउँपालिकाकी १९ वर्षीया सुस्मिता गोलेलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकी सुस्मितालाई सोधपुछ गर्ने क्रममा ३४ वर्षीया माइला स्याङ्बो पनि विमानस्थल गेटबाट पक्राउ परेका छन् । विमानस्थलको प्रस्थानमा ब्यागेज चेकिङको क्रममा सुस्मिताको झोलाबाट विभिन्न दरको एक लाख ४९ हजार साउदी रियाल र १० हजार युएई दिराम फेला परेको थियो । लुकाएर बाह्य मुलुकमा लैजान लागेको अनुमानमा प्रहरीले सुस्मितालाई पक्राउ गरेको थियो ।
उनीहरूलाई थप अनुसन्धानका लागि मंगलबार राजश्व अनुसन्धान विभाग हरिहरभवनमा पठाएको प्रहरीले जनाएको छ ।





















