कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ :मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाइने बताएको छ । चितवन उद्योग सङ्घको ३५औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै अस्पष्ट कानुनका कारण प्रशासनिक झन्झट बेहोर्नुपरेकाले समयसापेक्ष संशोधन गरिने बताए ।

उद्योगी व्यवसायीहरुले कानुनी अस्पष्टताका कारण झन्झट बेहोर्नुपरेको बताउँदै मन्त्री गौतमले भने, “प्रशासनिक झन्झट त्यतिबेला आउँछ जतिबेला कानुनहरू अस्पष्ट हुन्छन् । अब अस्पट कानुनलाई स्पष्ट बनाएर विद्यमान समस्या समाधान गर्न लागिपरेका छौँ ।” देशमा कसरी लगानीमैत्री वातावरण बनाउने भन्ने सन्दर्भमा आफूहरूले निरन्तर प्रयासरत रहेको उहाँले प्रष्ट पारे ।

त्यसका लागि आवश्यक पर्ने पूर्वतयारीहरू सरकारले गरिरहेको मन्त्री गौतमले बताए । हालै मात्र लगानीमैत्री कानुनहरूमा केके सुधार गर्नुपर्छ रु भनेर बृहत् कार्यशाला गरिसकिएको उनले जानकारी दिए । लगानीमैत्री कानुन निर्माणका लागि नीति निर्माता, कर्मचारी तन्त्र, निजी क्षेत्र, राजनीतिक क्षेत्र सबै एकै ठाउँमा हुनुपर्नेमा उनले जोड दिए। कानुन निर्माण गर्ने विषय रातारात नहुने भन्दै मन्त्री गौतमले भने, “अहिलेसम्म तपाईंहरूले भोग्नुभएको समस्या वर्षौंदेखि जेलिँदै आएका समस्या हुन् । सुधारमुखी कुराहरू देखिनका लागि कानुनको संसोधन गर्नुपर्‍यो । संसोधनको चरणमा बल्ल हामी पुगेका छौँ ।”

बिना तयारी कानुन संसोधन भयो भने त्यसको मूल्य नेपाली जनताले तिर्नुपर्ने भन्दै उनले थपे, “थोरै ढिला भएर केही हुँदैन । दीर्घकालीन रूपमा समस्या समाधान हुने गरी पूर्वतयारी गरेर छलफल र संवाद गरिरहेका छौँ ।” ‘फाष्टट्रयाक’बाट कानुन निर्माण गर्न पनि छदेखि आठ महिना लाग्ने भन्दै उनले अब कानुन निर्माणको चरणमा पुगेको बताए।

कार्यक्रममा बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले उद्योगी व्यवसायीको समस्या समाधान गर्न प्रदेश सरकार लागि परेको बताए । सो अवसरमा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष शोभा गुरुङले भोटेकोशी बाढीमा प्रभावित भएका उद्योग पुन:स्थापनाका लागि सरकारले सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका सभापति मिनिमाधव खनाल, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० चितवनका अध्यक्ष कमल पाठक, नेपाल उद्योग परिसङ्घका कार्यवहाक अध्यक्ष भिम घिमिरे, चितवन उद्योग सङ्घका गभर्निङ काउन्सिलिङ अध्यक्ष राजु पौडेल, उद्योग सङ्घ चितवनका अध्यक्ष मदन घिमिरेलगायतले आ(आफ्नो धारणा राखेको थियो ।