सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले कूल २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार पाँच सय ३० कित्तासहित उक्त परिमाणमा आइपिओ निष्कासन गर्न लागेको हो ।
लगानीकर्ताले उक्त आइपिओमा प्रतिकित्ता तीन सय ६० रूपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ । सो आइपिओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आइपिओमा फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि फागुन २७ गतेसम्म लम्बिनेछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूका साथै सिडिएस एण्ड क्लियरिङद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रणलीमार्फत् गरी आवेदन दिन सक्नेछन् ।

















