उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास जग्गा प्रकरणको फैसलाप्रति खुशी प्रकट गर्दै नेपाली जनतालाई बधाई र विशेष अदालतलाई धन्यवाद दिएका छन् । ललिता निवासको जग्गा प्रकरणमा विशेष अदालतले ऐतिहासिक फैसला गरेको भन्दै उनले शुक्रबार सामाजिक सञ्जालमार्फत खुशी प्रकट गरेका हुन् ।
गृहमन्त्री श्रेष्ठले सामाजिक सन्जालमा लेखेका छन्, ‘अन्तत: ललिता निवासको सरकारी जग्गा सरकारको नाममा आयो । सबै नेपाली जनतालाई बधाई छ । जालसाजी, कीर्ते, ठगी र भ्रष्टाचारद्वारा राज्य लुट्ने कार्य र प्रक्रियाविरुद्ध विशेष अदालतले सत्य र न्यायको पक्षमा ऐतिहासिक फैसला गर्यो । विशेष अदालत र न्यायाधीशहरुप्रति हार्दिक आभार र धन्यवाद ।’
बिहिबार विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा व्यक्ति र संस्थाका नाममा रहेका जग्गा सरकारको हुने फैसला गरेको थियो । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्व सचिव छविराज पन्तसहित ८० जनाभन्दा बढीलाई दोषी ठहर गर्दै कैद तथा जरिवानाको फैसला पनि गरेको थियो ।





















