चितवनका किसान सडकमा दूध पोखेर विरोधमा उत्रिएका छन् । आफूहरुले उत्पादन गरेको दूध बिक्री नभएको र बिक्री भइसकेको दूधको पैसा महिनौँसम्म पनि नपाएको भन्दै चितवन जिल्ला दूध उत्पादक सहकारी संघको नेतृत्वमा उनीहरु विरोधमा उत्रिएका हुन् ।
उक्त संस्थामा जिल्लाका एक सय १५ भन्दा बढी दुग्ध सहकारीहरु आवद्ध छन् । संघका अध्यक्ष किशोर बगालेका अनुसार किसानहरूले प्रधानमन्त्री, संघीय तथा प्रदेश कृषिमन्त्रीलगायतका सम्बन्धित ठाउँमा पटकपटक समस्या राख्दासमेत समाधान नभएकाले आन्दोलनस्वरूप दूध पोखेको जानकारी गराएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनमा प्ले कार्ड प्रदर्शन र नारा–जुलुससहित गएको समूहले पूर्व–पश्चिम राजमार्गअन्तर्गत केन्द्रीय बसपार्कमा दूध पोखेको हो ।
चितवनका केही दूध सहकारीले साउनदेखिकै भुक्तानी नपाएको जनाइएको छ । संघका सचिव कल्याण अधिकारीका अनुसार चितवनका ४० हजारभन्दा बढी पशुपालक किसानले करिब २२ करोड रुपैयाँ भुक्तानी पाएका छैनन् । चितवनमा उत्पादन हुने साढे तीन लाख लिटर दूधमध्ये डेढ लाख जिल्लाबाहिर खपत हुँदै आएको छ भने बक्यौता माग्दा दूध उद्योगले खरिद गर्न मान्दैनन् ।






















