आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले तीन जना मन्त्रीको राजीनामा माग गरेको छ । एमाले सचेतक महेश बर्तौलाले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीको राजीनामा माग गरेका हुन् ।
उनले गत पुस १३ गते ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जाने गरी भएको घटनामा भौतिक मन्त्री ज्वाला दोषी देखिएकाले राजीनामा दिनुपर्ने माग गरेका हुन् । स्वास्थ्यमन्त्री माथि अख्तियारले छानबिन गरेको भन्दै उनको पनि राजीनामा एमालेले माग गरेको हो । ‘सरकारका मन्त्री दोषी भनेर किटान गरेको ३० घन्टा बित्दा समेत पदमै बहाल हुनुहुन्छ । सामान्य सिपाहीलाई कारबाहीको डन्डा अनि मन्त्रीलाई उन्मुक्ति यो हुन सक्दैन,’ सांसद बर्तौलाले भने, ‘स्वास्थ्यमन्त्री बस्नेत पनि केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएकाले उनले पनि पदबाट राजीनामा दिनुपर्दैन ?’
भ्रष्टाचारको आशंका गरेको व्यक्तिलाई मन्त्रीको पदमा राखेर प्रधानमन्त्रीको सुगारटाइ भाषण सुन्न हामी तयार नभएको भन्दै उनले प्रधानमन्त्रीले गम्भीर आरोप लागेका मन्त्रीहरुलाई लिएर सरकार चलाउन नहुने तर्क गरे । त्यस्तै, रामग्राम क्षेत्रमा नीजि कम्पनी खडा गरेर ९९ वर्षका लागि लिजमा दिने प्रयत्न भएको भन्दै त्यसको जिम्मेवारी पर्यटनमन्त्री किराँतीले लिनुपर्ने उनको भनाइ छ ।




















