काठमाडौंको प्रहरी प्रभाग बलम्बुका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठले बोकेको पेस्तोलबाट गोली चल्दा दुई जना घाइते भएका छन् । बलम्बु प्रहरी प्रभागभित्रै आइतबार साँझ गोली चल्दा इन्सपेक्टर श्रेष्ठका बडीगार्ड र सेवाग्राही घाइते भएका हुन् ।
इन्स्पेक्टर सुरेन्द्र श्रेष्ठ ड्युटी सकेर जाने क्रममा पेस्तोल बुझाउन कोर्टमा गएका बेला गोली चलेको बताइएको छ । पेस्तोल परीक्षण गर्दा एक राउन्ड गोली फायर भएर भुँइमा लागेको गोली उछिट्टिएर इन्स्पेक्टर श्रेष्ठकै बडिगार्ड र एक सेवाग्राहीको खुट्टामा लागेको थियो । घाइते सेवाग्राही आइतबार नै डिस्चार्ज भइसकेका छन् । बडिगार्डको भने चन्द्रागिरिकै मिड प्वाइन्ट अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था पनि सामान्य छ ।
त्यस्तै, उक्त घटनाबारे अनुसन्धानका लागि इन्स्पेक्टर श्रेष्ठलाई काठमाडौं प्रहरी परिसर तानेर छानविन थालिएको छ । आइतबार साँझ कार्यालयभित्रै उनले नै बोकेको पेस्तोलबाट गोली चलेको प्रकरणबारे परिसरमा नै तानेर छानविन थालिएको हो । प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगा पौडेल नेतृत्वमा गठन भएको समितिले घटनाबारे छानविन थालेको छ भने समितिमा अन्य दुईजना सदस्य छन् ।




















