त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले नागरिकलाई झुक्याउने काम गरेको आरोप नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लगाएका छन् । सरकारले केही दिनभित्रै राजनीतिक भागबण्डाको आधारमा नै उपकुलपति नियुक्ति गर्ने तयारी गरिरहेको बेला खुला प्रतिष्पर्धा भनेर जनतालाई झुक्याउने काम प्रधानमन्त्रीले गरेको आरोप थापाले आज सोमबार लगाएका हुन् ।
विश्वविद्यालयको नेतृत्व चयनदेखि पठनपाठनलगायत धेरै विषयमा सुधार गर्नुपर्ने भएपनि प्रधानमन्त्रीले पुन:गल्ती दोहार्याएको उनले बताए । विश्वविद्यालयको नेतृत्व चयनदेखि यसको पठनपाठनलगायतका थुप्रै विषयमा सुधार गर्नुपर्ने रहेको भन्दै नेता थापाले भने, ‘हाम्रो विश्वविद्यालयको अवस्था बिजोग छ । तर अहिले हतारहतार सिफारिस भएर जुन नाम आएका छन् यसबाट स्पष्ट के भयो भने पहिलेजस्तै यसलाई भागबण्डामा लगेर टुंग्याउने काम हुँदैछ ।’
त्यस्तै, मौकाको सदुपयोग नगर्नु भनेको आफैँ झुक्किनु भएको भन्दै थापाले भने, ‘सुधारको संकेत दिने मौका पाएको बेलामा प्रधानमन्त्रीज्युलाई सबैलाई झुक्याएँ भन्ने लागेको होला, आफैँ झुक्किरहनु भएको छ ।’




















