skip this वडा नं १६ बालाजु च:मती

स्वस्थानीका प्रसँगहरु

– अच्युतप्रसाद पौडेल ‘चिन्तन’

यस वर्षको स्वस्थानी कथा प्रसंग यही गत माघ ११ गतेदेखि शुरु भइ हाल फागुन १२ गते समापन हुँदैछ । स्वस्थानीको प्रसंगमा नेपालीको गरिवी अनि आफ्नै कथा व्यथाको उजागर गर्ने यो लेखको आशय छ । साँखुबजारबाट एक–डेढ किलोमिटर पूर्वतर्फ शालीनदीक्षेत्र छ । प्रसिद्ध नदीकै नामबाट यो क्षेत्र शालीनदीक्षेत्रले चिनिन्छ । शालीनदी श्रीस्वस्थानीदेवीको अति पावनपीठ हो ।

पौषशुक्लपूर्णिमादेखि माघशुक्लपूर्णिमासम्म यहाँ श्रीस्वस्थानीदेवीको व्रत उपासना गरिन्छ । स्कन्दपुराण, केदारखण्डका अनुसार हरेक हिन्दुधर्मावलम्बीहरूका घरघरमा श्रीस्वस्थानी देवीको व्रतउपासना गर्ने, स्वस्थानी कथा भन्ने, सुन्ने चलन छ । स्वस्थानी व्रत कथाअनुसार सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउन यो व्रत गरेकी थिइन् । माघस्नान गर्ने क्रममा शालीनदीमा स्नान गरी नजिकै रहेका हरिहरको पूजा आराधना र स्वस्थानीदेवीको पूजा गरेमा इच्छित फल प्राप्त हुन्छ भनिएको छ ।

शालीनदीको जल अर्चन गर्दैमा पनि शरीरको रोग निको हुने, आरोग्य प्राप्ति हुने, तनमा कान्ति र मनमा शान्ति प्राप्त हुने विश्वास छ । अघि यहीँ व्रतउपासना गरेर कुरूप भएकी चन्द्रावतीले सुन्दर वदनयुक्त शरीर प्राप्त गरेकी थिइन् । स्वस्थानी कथा सत्य युगको हो । यस युगमा यो देशको नाम सत्यपुर, त्रेतामा तपोपुर, द्दापरमा मुक्तिपुर हुँदै हाल कलि युगमा देशको नाम नेपाल रहेको छ, न्यायले आम जनता सुरक्षित हुने अर्थमा यहाँको नाम नेपाल रहेको हो ।

नेपालमा हाल पनि गरिवी र बेरोजगारी तीब्र छ । काम, धन्दाका लागि नेपालीहरु देश विदेश भौँतारिएका छन् । विदेश जाने क्रममा राहदानीको भीड थेग्नै नसक्ने भएको छ । देशैभित्र रोजगारी भएको भए यस्तो हुन्नथ्यो । वैदेशिक सहयोग र ऋणमा छ देश । युगीन इतिहास बोकेको स्वस्थानी कथामा नेपालीकोे यथार्थ चित्रण छ । पछिल्लो समय देवकोटाले मुना मदनमा गरिवीको तस्वीर देखाउँदा मदन भोटतिर लागेको प्रसंग छ भने मुनाले स्वदेशमा विरह बोकेको देखिन्छ ।

स्वस्थानी कथामा पनि गोमा गर्भवती हँुदा भविष्यको सन्ततिको लालन पालन गर्न खर्च जोहोको संकल्प लिएर उनका पति शिवशर्मा विदेशतिर लाग्छन् । उनी उतै मृत्यु वरण गर्दा विरहमा परेकी गोमाका छोरा नवराजले बाबुको खोजी गर्दै मृत पाइएका बाबुको सद्गत गरी केही पैसा समेत कमाएर घर फिर्छन् । घरमा गोमाले आफ्नो निष्ठा छोड्दिनन् । नवराज पर्केपछि धर्मभीरु आमाको आशीर्वाद र हरिहरका प्रभावले साँखु भनौँ लावण्य देशका राजा भई सबै परिबारले पुनर्जीवन पाए सरह हुन्छ । नवराज पत्नी चन्द्रावतीलाई माइतीबाट डोलेहरुले साँखुमा ल्याउने क्रममा रानी बनेकी उनलाई शक्तिको उन्माद चढ्दा कुरुप बन्छिन्, डोलेहरु शिला हुन्छन्, चन्द्रावती भने दु:ख पाएर स्वस्थानीको उपासना गर्छिन्, पछि सुन्दर शरीर पाई पतिसंगको मिलन र राज्य सुख भोग गर्छिन् ।

शालिनदीमै विछोड भएका नाग–नागिनीको पुनर्मिलन भएको प्रसंग छ । धनधान्य र आफ्नो अटल सौभाग्य प्राप्त गर्न चाहनेहरू श्रीस्वस्थानीको उपासना शालीनदीक्षेत्रमा बसेर गर्ने गरेको प्रसंग यसमा रहेको छ । स्वस्थानीको शाब्दिक अर्थ हुन्छ– आ–आफ्नो स्थानमा बसेर आ–आफ्नो भूमिका र कर्तव्य निर्वाह गर्नु, पथभ्रष्ट नहुनु, कर्तव्यच्यूत नहुनु, सम्पूर्ण क्षेत्रबाट सबैले आ–आफ्नो पदीय आचरण, मर्यादा अनुकुलको विधि व्यवहार गर्न सकेमा सबैतिरको कल्याण हुन्छ नै ।

एक महिना सम्म भनिने स्वस्थानी कथामा नैतिक र इमान्दार हुन सबैलाई प्ररित गरिएको छ । कलियुगमा सदा यज्ञ, हवनादि कार्य संभव हुँदैन । पर्वविशेषको तीर्थस्नानबाट यसको पूर्ति हुने हो । स्वस्थानीश्रवण, विभिन्न क्षेत्रहरुमा गरिने पुण्यकर्मले सत्य, त्रेता, द्धापर आदि युगविशेषमा मानवले गर्ने सत्कर्मको फल प्राप्त हुने हुन्छ । मानवजीवनको उषाकाल सत्ययुग हो, ज्ञानको आरम्भको समय त्रेतायुग हो ।

ज्ञानको प्रयोगको समय द्धापरयुग हो । कलियुग धर्म र कर्म दुवैको समय हो । यस अर्थमा सबै युग हाम्रै वरिपरि रहेको पुष्टि हुन्छ । स्नानले तनशुद्धि, दानले धन शुद्धि, ध्यानले मनशुद्धि हुन्छ । दानमा महिना विशेष, समय विशेष तोकिएको छ । गाई, भूमि, तिल, बस्त्र, सुन, धान्यादि बस्तुहरुको दानले तन, मन, धन सवै पवित्र बन्छ । बैशाखमा जल र अन्न दानको महत्व बढी छ भने कार्तिकमा तप र पूजाको अधिक महत्व छ । माघमा भने यी सबै पुण्य केवल स्नानले मात्रै प्राप्त हुन्छ । सकाम भावले स्नान गरे मनोरथ पूरा हुने र निस्काम भावले स्नान गरे जीवनमा परम गति प्राप्त हुन्छ । अन्य पुण्य कर्मले स्वर्ग प्राप्ति र पुण्य क्षीण भएपछि स्वर्गबाट फिर्ता हुनु पर्छ भने माघस्नानबाट सदाको लागि दिव्यधाम प्राप्त हुने कुरामा शास्त्रहरुले गर्जन गरेका छन् । स्वस्थानी कथामा हिमालय पुत्री सतीदेवीको गुह्य पतन भई प्रसिद्ध शक्तिपठि गुह्येश्वरीको स्थापना भएको चर्चा छ ।

शिवले मृग रुप लिएर पाशुपत क्षेत्रमा विचरण गरेको प्रसंग छ । गुह्येश्वरी, पशुपतिक्षेत्र लगायत काठमाडौँका धेरै भागहरु विश्व सम्पदा सूचीमा परेका छन्, संसारले चिनेको छ यो नगरी मात्रै होइन सगरमाथा र बुद्धभूमि नेपाललाई । गोकर्णक्षेत्रमा बसेर त्रेता युगमा रावणले ठूलो तप गर्दा शिवकृपाबाट इच्छित फल पाएको चर्चा स्वस्थानीमै छ भने शिवजीले पत्नी विरहमा उनको शवलाई लिएर संसार घुम्दा शरीरका अँगहरु पतन भई ३३ करोड शक्ति पीठ तयार भएको र ५० भन्दा बढी शक्ति पीठ नेपालमै रहेको चर्चा पनि छ ।

द्दापर युगको महाभारत कालमा अर्जुन यहाँ आई शिवकृपा पाशुपत अश्त्र लगेको चर्चा छ । धरानको दन्तकालीमा सतीदेवीको दाँत पतन भएकोक्षेत्र देखि पश्चिम डोटीकी शैलेश्वरी, वैतडीकी त्रिपुरासुन्दरी, डँडेल्धुराकी उग्रतारा, सुर्खेतकी देउती बज्यै, बाग्लुँगकी कालिका, पोखराकी विन्ध्यबासिनी, भद्रकाली, तालबाराही, तनहुँकी छिम्केश्वरी, सप्तरीकी छिन्नमस्ता, बाँकेकी वागेश्वरी, परासीकी दाउन्ने देवी, गोर्खाकी गोरखकाली, मनकामना देवी दोलखाकी कालिन्चोेक, ताप्लेजुँगकी पाथीभारादेखि असंख्य शक्तिपीठहरु नेपालका दैवी सम्पदाहरु हुन् र त देशलाई देव भूमि, तपोभूमि, यज्ञभूमि, देवताहरुको कृडास्थल देवघाट दैवी भूमि नै भनिन्छ ।

देशको हिमालीक्षेत्रमा अहिले पनि भेडापालन, ऊनको उत्पादन, घरेलु, कुटीर, लघु, साना, मझौला उद्यम व्यवसायको सम्भावना धेरै छ । स्वस्थानी कथामा वृद्ध गोमाले ढिकी, जाँतो, कृषि, घरेलु काम गर्दै आप्mनो र परिबारको भरण पोषण गरेको चर्चा छ । समकालमा असमान उमेर भनौँ बाल बिबाह प्रथाको चर्चा यसमा छ भने सती प्रथा त चन्द्र शमशेरका पालासम्म भएको इतिहास छ हाम्रो । शुरुमा दु:ख पाएका स्वस्थानी कथाका पात्रहरुले जीवनको उत्तरार्धमा सुख पाएको जीवन्त कहानी छ, यस कथामा । दु:खमा पनि कथाका पात्रहरुले होस गुमाएका छैनन्, धैर्य र धर्म अनि साहसका साथ जीवन जिएका छन्।

यो नेपाली शैलि पूर्वीय परम्पराको ज्वलन्त उदाहरण हो । अतिथि सत्कार गर्ने नेपाली परम्परालाई कायम राख्न सप्तर्षिहरु जस्ता विशिष्ट पाहुना कुटीमा आउँदा ऊनका डल्ला बजारमा बिक्री गरेर पाहुनाको स्वागत गर्न प्रयास भएको चर्चा छ यस कथामा । आजसम्म नेपालीहरु विदेशीहरुलाई पनि अतिथि मान्दै कहिले भ्रमण वर्ष भन्दै कहिले पर्यटन, पर्वतारोेहण, टृेँिकग भन्दै संसारका पाहुना हरुलाई स्वागत गर्दैछौँ । गरिवी न्यूनीकरणको अभियान ताजै छ हाम्र्रो, स्वस्थानी कथाका पात्रहरुले धेरै पहिले यसको संकेत गरिसकेको देखिन्छ ।

स्वस्थानीको उपासनाको मूल उद्देश्य सबैले आ–आफ्ना स्थानमा बसेर आ–आफ्नो कर्तव्य गर्नुपर्ने भन्ने हो । कर्तव्यच्यूत हुँदा कष्ट हुने कुरा स्वस्थानी कथाका पात्रहरुबाटै जानकारी हुन्छ । प्राचीन नेपाली शहर साँखु शालिनदीको मूल प्रवेशद्धार हो । अघि शंखदेव राजाले राज्य गरेका, शंखपुर पछि शंखरापुर भएको र पछि अपभ्रशं हुँदै जाँदा साँखु भएको हो भनी इतिहासविद्हरुले बताएका छन् । प्राचीन इतिहास बोकेको यो शहर ७२ को भूकम्पले उजाड भयो, अहिले बिस्तारै उठ्दैछ । राजधानी काठमाडौँ वरिपरि ४ गणेश र ४ नारायणहरु अनि बूढानीलकण्ठ छन् । बीचमा पशुपति, बौद्धक्षेत्र, स्वयम्भू लगायत अनेकानेक पीठहरु छन् ।

दक्षिणतिरकी फर्पिँगकी दक्षिणकाली र उत्तर साँखु शहर शिरभागमा वज्रयोगिनीको मन्दिर छ । यहाँ नवरात्री, विशेष पर्व, बारहरुमा पूजा आराधना गर्नेहरुको भीडभाडै देखिन्छ । चैत्रशुक्ल पूर्णिमाका दिन त विशेष पूजा नै गर्ने गरिन्छ । त्यहाँ नजिकै रहेको मणिचूडेश्वर शिवलिँग बारे छुट्टै चर्चा छ । स्कन्दपुराण, हिमवत्खण्ड नेपालमाहात्म्य अध्याय ११९ अनुसार प्राचीनकालमा चोरी शिकार गर्ने एउटा पापीले एउटा घरबाट सुन चोरेछ । सुन चोरेको कारण अर्काे जन्ममा ऊ रोगी भएर जन्मेछ । आफ्नो रोग निवारण गर्ने क्रममा सारा पृथ्वीतलमा घुम्दै आउँदा यही मडिचूडेश्वर शिवलिङ्ग नजिकै आइपुगेछ र बज्रयोगिनी मन्दिर परिसरको मणिचूडपर्वतमा रहेको पोखरीमा पौडी खेल्न लागेछ ।

पौडीको अभ्यास नभएकाले डुबेर मरेछ । अकालमृत्यु भए पनि मणिचूडेश्वर पर्वतमा मृत्यु हुन गएकाले उसले फेरि मत्र्यलोकमा जन्मनु परेनछ । उसले शिवकृपा पाएर मुक्ति पाएछ । यसरी मणिचूडपर्वत एक प्रसिद्वधाम बन्न पुगेछ । शिवपुरीक्षेत्रले स्पर्श गरेको मणिचूड पर्वतक्षेत्रमा प्रवेश गर्ने जो कोही मानिसहरू पनि साधन सम्पन्न हुन सक्छन् । इहलौकिक सुखको साथै पारलौकिक आनन्द पनि प्राप्त गर्न सक्छन् भन्ने भनाइ छ ।