skip this वडा नं १६ बालाजु च:मती

धुलो दूधको माग घटेसँगै झापाका डेरी सञ्चालक समस्यामा

झापामा दूध तथा दुग्धजन्य सामग्री उत्पादन एवं बिक्री(डेरी सञ्चालन) गर्दै आएकाहरूले स्वदेशमा उत्पादन भएको धुलो दूधको माग घटेपछि व्यवसाय सञ्चालनमा समस्या भएको गुनासो गरेका छन् । स्थानीय किसानले उत्पादन गर्दै आएको गाईभैँसीको दूध सङ्कलन गरी बजारीकरण गर्दै आएका साना तथा मझौला डेरी व्यवसायीले किसानलाई भुक्तानी दिन नसक्ने अवस्थामा आफूहरू पुगेको दुखेसो पनि गरेका छन् ।

विगत चार वर्षअघिदेखि झापाको दमक–१० सेतुमारीमा डेरी सञ्चालन गर्दै आएका व्यवसायी विदुर भण्डारीले पछिल्ला केही दिनयता डेरी व्यवसायीले स्थानीयस्तरमा सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई दिन कठिन भएको बताए । उनको डेरीले आबद्ध दुई सय साना किसानबाट गाईभैँसीको पाँच सय लिटर दूध दैनिक सङ्कलन गर्दै आएको छ तर बजारबाट भुक्तानी नहुँदा समस्या भएको व्यवसायी भण्डारीले बताए । उनका अनुसार डेरीमा सङ्कलन भएको दूध दमक बजारका साथै पोखराको सुजल डेरीले खरिद गर्दै आएको छ । तर केही दिनयता उक्त डेरीले बजारमा धुलो दूध बिक्री गर्न नसकेको भन्दै भुक्तानी नदिएपछि किसानलाई पशुआहाराको रूपमा प्रयोग गर्दै आएको दाना, चोकरसमेत दिन नसक्ने अवस्थामा डेरी सञ्चालक पुगेका छन् ।

केही समय अघिमात्र दूधको मूल्यमा केही वृद्धि हुँदा निकै उत्साहित देखिएका किसान अहिले समयमा नै दूधको भुक्तानी पाउन नसक्दा निराश हुनुपरेको दमक–१० का गाईपालक किसान नवराज न्यौपानेले बताए । दुग्ध डेरी अहिले दूधका साथै दही, घिउ, पनिरलगायत दुग्धजन्य वस्तु उत्पादन तथा बिक्री गर्दै आएको छ । राससले जनाएनुसार नेपाली बजारमा भारतीय उत्पादनले निकै प्रभाव जमाउँदै आइरहेको समयमा दूधको बजारमा पनि समस्या आएको व्यवसायीहरू बताउँछन् । भारतीय उत्पादनको लागत मूल्य कम हुनु र नेपाली उत्पादनको लागत मूल्य बढी भएकाले दूधको बजारमा समस्या भएको उनीहरूको बुझाइ छ ।