सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया स्थगित भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिका अनुसार आवेदकहरुले उपकुलपतिको मापदण्ड कडा बनाएको गुनासो गरेपछि नियुक्ति प्रक्रिया स्थगित भएको हो ।
समितिले सुदूरपश्चिम र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट मापदण्डमा अनुसन्धानलाई ३५ अंक छुट्याएको छ । अन्तर्वार्ता र विश्वविद्यालयको कार्ययोजना प्रस्तुतीलाई कम प्राथमिकता दिइएको छ । अब कार्यविधि संशोधन अथवा कसरी अगाडि बढ्ने भन्ने विषयमा समितिको बैठक बसेर निर्णय गर्ने तयारी भइरहेको छनोट तथा सिफारिस समितिका संयोजक तथा विश्वविद्यालय अनुदान आयोगका प्रमुख प्रा.डा.देवराज अधिकारीले बताए ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि भने अनुसन्धानलाई ६ अंक र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोटका लागि १६ अंक अनुसन्धानलाई छुट्याईएको थियो । त्यही मापदण्डलाई आधार मानेर आवेदकहरुले आपत्ति जनाइरहेको समितिले जनाएको छ ।
समितिले गत २६ माघमा सूचना निकालेर उपकुलपति पदमा दर्खास्त आह्वान गरेको थियो । १० दिनको समयावधि तोकेर आवेदन आह्वान गरेको समयावधि सकिने दिन नै अर्थात ६ फागुनमा समितिले अर्को सूचना निकाल्दै छनोट प्रकृया स्थगित भएको जनाएको थियो ।
उक्त अवधिमा १८ जना आवेदक (मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिको लागि ९ जनाले र सुदूरपश्चिमका लागि ९ जनाले) आवेदन दिएको समितिले जनाएको छ । आगामी १८ फागुनमा सुदूरपश्चिम विश्वविद्यालयको र १७ फागुनमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिहरुको कार्यकाल सकिँदैछ ।





















