skip this काठमाण्डौं महानगरपालिका ११

राजसंस्थाको मागसहित राप्रपाको प्रदर्शन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था र हिन्दु राष्ट्र पुन:स्थापनाको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ । राप्रपाले ४०बुँदे माग राख्दै आज बुधबार काठमाडौंमा प्रदर्शन गरेको हो ।

राप्रपाले विरोध प्रदर्शनमा प्रदेश संरचनाको खारेज गरेर बलियो केन्द्र र अधिकार प्राप्त स्थानीयतह रहेको दुई तहको सरकार हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका, राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न माग राखेको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार आजदेखि काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा दबाबमूलक प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । देशभर प्रदर्शन र सभा गरेर चैतको पहिलो साता काठमाडौं केन्द्रित प्रदर्शन र भेला गर्ने उनले बताए ।

आज काठमाडौंमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, र्‍यालीसहित दबाबमूलक कार्यक्रम गर्ने तथा देशका सबै जिल्लामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको राप्रपाले जनाएको छ ।

त्यसैगरी, संवैधानिक राजतन्त्र र वैदिक सनातन हिन्दु राष्ट्रको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे ज्ञापनपत्र बुझाएको छ । बुधबार राप्रपाका नेताहरू प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर ४०बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुको पहिलो मागमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था रहेको छ ।