skip this वडा नं १६ बालाजु च:मती

मोरङस्थित एक सहकारीको दुई कार्यालयबाट करिब १३ लाख चोरी

मोरङको एक सहकारी संस्थाको दुई कार्यालयबाट करिब १३ लाख चोरी भएको छ । मोरङको लेटाङमा रहेको एकीकृत जनभावना वचत तथा ऋण सहकारी संस्थाको दुईवटा कार्यालयबाट १२ लाख ८१ हजार रुपैयाँ चोरी भएको हो ।

प्रहरीका अनुसार लेटाङ नगरपालिका–२ फँडानीमा रहेको संस्थाको मुख्य कार्यालय र लेटाङ–२ खैरेनीमा रहेको शाखा कार्यालयबाट रकम चोरी भएको हो । मुख्य कार्यालयबाट आठ लाख ९० हजार चार सय ४५ रूपैयाँ र शाखा कार्यालयबाट तीन लाख ९० हजार पाँच सय ८५ रूपैयाँ चोरी भएको सहकारीका अध्यक्ष हेरम्भराज भट्टराईले जानकारी दिए । मुख्य कार्यालयभित्र तीनवटा गेट थिए । एउटा गेटमा चार वटासम्म ताला लगाइएको थियो । सबै गेटको ताला तोड्दै भित्र छिरेर चोरी भएको देखिएको उनले बताए ।

सहकारीको निगरानीका लागि सीसी क्यामेरा जडान गरिएको थियो । तर, चोरीमा संलग्नले सीसी क्यामेराको डिभाइस नै लिएर गएको देखिएको प्रहरीले जनाएको छ । सीसी क्यामेराको डिभाइस नै गायब पारिएकाले घटनामा संलग्नको पहिचान गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले विशेष टोली परिचालन गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।