राष्ट्रियसभाको सरोकार तथा समन्वय समितिमा सांसहरूले सोधेको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले रुसी सेनामा भर्ति भएका नेपाली नागरिकको बारेमा विवरण उपलब्ध गराउने समझदारी बनेको बताएका छन् । आज बुधबार प्रधानमन्त्रीले रुसी सरकारले सेनामा भर्ति भएका नेपाली नागरिकका विषयमा सूचना दिने र मृतक परिवारलाई क्षतिपूर्ति दिने विषयमा समझदारी बनेको बताएका हुन् ।
प्रधानमन्त्री दाहालले भने, ‘हामीले रुसी सरकारलाई विभिन्न माध्यमबाट ध्यनाकर्षण गराएपछि उनीहरूले पनि सूचना दिने, राहत/क्षतिपूर्ति दिने र तथ्यांक विवरण दिने समझदारी बनेको छ । बल्ल नेपाल सरकारको कमाण्डमा चिज आउन थालेको छ ।’
प्रधानमन्त्रीले नेपाली नागरिकहरू रुसी सेनामा भर्ना भएको विषयमा सरकार बेखबर रहेको बताएका थिए । त्यहाँ कार्यरत नेपालीहरूको मृत्यु भएको खबरलेमात्रै सरकार जानकार भएको प्रधानमन्त्रीको भनाइ छ । उनले रुसी सेनामा भर्ना भएको कुरा नेपाल सरकारलाई थाहा नभएको बताएका छन् । साथै, प्रधानमन्त्रीले सन्धि सम्झौता नभएका देशको सेनामा भर्ना नहुन आह्वानसमेत गरेका छन् ।





















