सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शहीदको रगत, पसिना र बलिदानको जगमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले चुनौती दिन नसक्ने बताउनुभएको छ ।
नेकपा (माओवादी केन्द्र)ले शहीद सप्ताहको अवसरमा घोराहीको शहीद पार्कमा आयोजना गरेको गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिदको शालिकमा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।
महानगरपालिका–६ दाङमा आज‘ उनले वर्तमान व्यवस्था र परिवर्तनका लागि धेरै शहीदहरूको योगदान र बलिदानलाई कसैले पनि आँकलन गर्न नहुने बताइन् ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र विश्वकै सबैभन्दा विकसित राजनीतिक प्रणाली भएको उल्लेख गर्दै मन्त्री शर्माले यो व्यवस्थामा कसैले प्रश्न उठाउने ठाउँ नभएको बताए । अस्थिरता सृजना गर्न चाहने तत्वले विद्यमान राजनीतिक व्यवस्थाको आलोचना गर्दै आए पनि गणतन्त्र स्थापनाको आधार र आयाम सबैले बुझ्नुपर्ने उनको भनाइ छ ।
‘देशमा शान्ति प्रक्रिया प्रारम्भ भएको दुई दशक हुन लागेको छ, ६ महिनामा शान्ति प्रक्रिया टुङ्ग्याउने भनिएको थियो, वास्तवमा यतिबेला ढिलो भइसकेको छ । शान्ति प्रक्रियाका बाँकी कामहरु पूरा गर्नुपर्छ । प्राथमिकतामा राखेर चाँडोभन्दा चाँडो सार्थक निष्कर्षमा पुर्याइयोस्, त्यसका लागि सरकार गम्भीर भएर लागिपरेको छ,’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री शर्माले भने । उनले मुलुकको राजनीतिक व्यवस्था परिवर्तनका लागि भएको लामो सङ्घर्षका कारण पीडित व्यक्ति र परिवारलाई न्याय दिलाउन अब ढिलाइ गर्न नहुनेमा जोड दिइन् ।
‘सरकार सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट पारित गराउने प्रक्रियामा छ’, सञ्चारमन्त्रीले भने, ‘बेपत्ता लडाकुको विषयलाई सम्बोधन गर्न संसदबाट विधेयक पारित गराउनु जरुरी छ । जनआन्दोलनका क्रममा घाइते भएका लडाकुको उपचारको व्यवस्था मिलाउने कार्यविधि तयार गरिएको उनले बताइन् । नेकपा (माओवादी केन्द्र)ले हरेक वर्ष फागुन १४ देखि २१ गतेसम्म नेपाली क्यालेन्डरअनुसार शहीद सप्ताह मनाउँदै आएको छ ।





















