नेपाल भ्रमणमा रहेका चिनियाँ जनमुक्ति सेनाको अन्तर्राष्ट्रिय सैन्य सहायता कार्यालयका उपप्रमुख मेजरल जनरल झांग बाओकुनले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेटवार्ता गरेका छन् । नेपाली सेनाका अनुसार सैनिक मुख्यालय जंगी अड्डामा आज आइतबार शर्मा र बाओकुनबीच भेटवार्ता भएको हो ।
नेपाली सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भेटघाटका अवसरमा दुई छिमेकी देशहरूका साथै नेपाली सेना र चिनियाँ जनमुक्ति सेना बीच रहीआएको सम्बन्धका विविध पक्षहरू एवं आपसी चासोका विषयमा छलफल भयो ।’ बाओकुनको नेतृत्वमा चिनियाँ जनमुक्ति सेनाको प्रतिनिधिमण्डल शनिबार काठमाडौं आएको हो ।
प्रतिनिधिमण्डलले काठमाडौं, लुम्बिनी र पोखराका विभिन्न साँस्कृतिक र पर्यटकीय स्थलहरूको भ्रमण गर्ने कार्यक्रम रहेको छ । चारदिने नेपाल भ्रमणमा आएको ६ सदस्यीय चिनियाँ सैन्य टोली फागुन २९ गते स्वदेश फर्कने नेपाली सेनाले जनाएको छ ।





















