–अच्युतप्रसाद पौडेल ‘चिन्तन’
यसपालिको महाशिवरात्रि पर्व यही फागुन २५ गते परेको छ । त्यसो त अघिल्लोदिन २४ गते नै त्यसक्षेत्रको अवलोकन गरिरहँदा पंक्तिकारलाई ठूलो उत्साह जागेको छ, सबैतिर झकिझकाउ छ, विकास कोषका कर्मचारीहरुलाई भ्याइनभ्याइ पाइयो, हरेक वर्ष पंक्तिकारले पावन पशुपतिनाथको मन्दिर परिसरबाट आम सन्चारबाट त्यहाँको प्रत्यक्ष प्रसारण गर्ने गरेको छ । सबैको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर परिसरमा सो दिन र यस वरिपरिका दिनहरुमा शिवजीको दर्शनका क्रममा अपार भीड लाग्ने गर्छ । विश्वमा नै पञ्चमुखी शिवलिङ्गको ठूलो महत्व रहेको छ । अन्यत्र कतै नभएको पञ्चमुखी शिवलिंगको पूर्वी मुख शिवको हो भने पश्चिम मुख नन्दीस्वरुपको हो र उत्तरमुखलाई उमा अनि दक्षिणमुखलाई भैरव स्वरुप मानिएको छ । माथितिरको मुख महादेवको हो । यस्तै पूर्वीमुख तत्पुरुष, उत्तर वामदेव, पश्चिम सद्योजात र दक्षिणमुख अघोरको रुपमा लिइन्छ भने ऊध्र्वमुखलाई ईशान भनिन्छ । प्रत्येक मुख ब्रह्माण्डका चारै दिशा हो र आकाश भाग पनि । संपूर्ण जीव र जगत् जहाँवाट उदय हुन्छ र जहाँ विलय हुन्छ त्यो क्षेत्र शिवलिंग हो । र त संसारका शैवमार्गीहरु यहाँका पशुपतिनाथको दर्शन नगरेसम्म जीवन अधुरो मान्छन् ।
भोलेबाबाले दीन दुखीदेखि उच्च घरानियालाई समेत पालेका छन् । भिखारी त्यहीँ आउँछन् व्यापारी पनि त्यहीँ । हिजोआज मन्दिरपरिसर बारैबारले ढाकेको छ । अयोध्यामा राममन्दिर बनेपछि अर्र्बौँँ दानभेटी प्राप्त भइसकेको छ, विश्वको शिरभाग पशुपतिको संरक्षण भए हामीले धेरै धन कमाउन सक्छौँ, सवा अर्ब बढी त संसारमा हिन्दुधर्मीहरु नै छन् । पशुपतिको धर्मशाला होटलमा परिणत भएको छ, पूजासामान बेच्ने व्यापारीहरु ढोकैमा बस्न रुचाउँछन्, अवैेध बनेका संरचनाहरु हट्न मान्दैनन् । देशैभरि रहेका पशुपतिका नामका जग्गाहरु अतिक्रमणमा छन्, अहिले फेरि यसको खोजी गर्ने भन्दै समिति बनेको छ । दर्शनाथीहरुलाई सवारी पार्किँगको समस्या छ । थरिथरिका एन जि ओ हरु त्यतै छन् । कर्मकाण्ड गर्ने ब्राह्मणहरु घाटतिर लखेटिए, लास जलाउनेहरुले मनग्गे पैसा तिर्नु पर्छ, किरियापुत्रीहरु पनि ठगीमा परेका छन्, पवित्र उद्धेश्य लिएर पशुपतिक्षेत्र पुग्नेहरु त्यहाँबाट फर्कँदा निराश बन्न बाध्य छन्, राजनीतिको छायाँले ढाकेको छ नाथलाई, सरसफाइको समस्या छ, आन्दोलन नभएका दिन पाउन मुस्किल छ । गाई बाच्छाहरु पिडामा छन्, बाँदरहरु अखाद्य सामग्रीमा परेका छन्, मृगहरु चारोविहीन बन्न पुगेका छन्, निर्माणको गति बढ्दा पुरातात्विक मर्म बिग्रन लागेका छन्, वागमती कुरुप छ । ठेक्का पट्टा र पैसा कमाउने धन्धा चलेको छ र प्राचीनक्षेत्रको पहिचान मेटिन लागेको स्थिति छ । पशुपतिक्षेत्र सन्चालनमा छुट्टै कानुन छ तथापि व्यवस्थित हुन नसक्दा संसारभरिका अर्बौँ भक्तहरुको मन कुँडिन पुगेको छ ।
नेपाल नगरी काठमाडौं पूर्वक्षेत्रमा रहेको वागमती किनारामा भष्माञ्चलपर्वत, भष्मतीर्थ, भष्मगङ्गा आदि नामले पुकारिने श्लेष्मान्तकक्षेत्र, पश्चिम भागमा पावन पशुपतिनाथको मन्दिर छ । यो द्वादश ज्योतिर्लिङ्गको शिरभाग हो । भारतका प्रसिद्धक्षेत्र वद्रीनाथ, केदारनाथ, रामेश्वर र चीन तिव्वतको कैलाश क्षेत्रको दर्शनपछि पनि पशुपतिनाथको दर्शन नगरेसम्म अगाडिका दर्शनको पुण्य नमिल्ने कुरा हिमवत्खण्ड, स्कन्दपुराणमा उल्लेख गरिएको छ । यहाँ शिवरात्रि, जनै पूर्णिमा, तीज, एकादशी, सोमवार, शनिवारदेखि वालाचतुर्दशी जस्ता पावन दिनहरुमा हजारौं भक्तहरुको भीड लाग्छ । सवैभन्दा वढी भीड शिवरात्रिमा लाग्ने गर्छ । भारत लगायत अन्यत्रवाट समेत यहाँ आउनेहरुको घुँइँचो नै हुन्छ । पशुपतिनाथको मन्दिर करीव दुई हजार वर्ष पुरानो मानिन्छ । यद्यपि यो आधुनिक मन्दिरचाहिँ सन् १६९२ मा राजा भुपतीन्द्र मल्लले बनाउन लगाएका हुन् । वंशावलीका अनुसार यो मन्दिर वनाउने श्रेय सुपुष्प देवलाई जान्छ । सन् ३२५ मा राजा हरिदत्त वर्माले मन्दिर वनाउन उत्सुकता देखाए । यो मन्दिर कलात्मक छ । छानो धातुले वनेको छ भने सुनको जलप लगाइएको छ । ढोकाहरु चाँदीका छन् । मन्दिर पश्चिम फर्केको छ । मूल ढोका अगाडि शिवको वाहन नन्दी भण्डै १५ फिट लामो र ८ फिट अग्लो छ । मन्दिरको दक्षिण भागमा उन्मत्त भैरव छन् भने त्यसदेखि दक्षिण भागमा पुरै ६४ शिव लिंगहरु छन् । त्यसो त काठमाडौं, ललितपुर, काभें्रपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ्ग, मकवानपुर आदि गरी १० जिल्लाहरुमा ६४ ज्योतिर्लिङ्गको आदीम थलो छ भने ६४ ज्योतिर्लिङ्गमध्ये सर्वप्रथम आदीम लिङ्ग सिन्धुली क्षेत्रको कुशेश्वर शिव लिंग हो भने अन्तिम ज्योतिर्लिङ्ग पशुपति मन्दिर परिसर उत्तर क्षेत्र कैलाशमुनिको रुद्रगारेश्वर हो । पशुपतिनाथको मन्दिर दुई तले प्यागोडा शैलीको छ । झण्डै साढे तीन फिट अग्लो शिवलिङ्ग मन्दिरभित्र विराजमान छन् । हाल त्यहाँ सुनको जलहरि राखिएको छ । मन्दिरको मर्मत तथा पूजा व्यवस्थापनको परम्पराको श्रेय आठौँ शताब्दीताका यहाँ आएका आद्यगुरु शङ्कराचार्यलाई जान्छ । महादेवले गुह्येश्वरी अर्थात् उमालाई साथै लिई यहाँ विराजमान गर्ने गरेको भनिन्छ । पूर्व दक्षिणतर्फ ब्रह्मनाल जसलाई आर्यावर्त भनिन्छ । यहाँ जल स्नान गर्नेहरु भवरोगवाट मुक्ति पाउँछन्, तर पानी सफा छैन । ब्रह्मनालदेखि भष्मेश्वर क्षेत्र भष्मतीर्थ हो, यहाँ पाइला राख्ने कुनै पनि प्राणीले भवाटवीको मोहवाट छुट्टी पाउँन सक्छन् ।
पशुपतिनाथ मन्दिरपरिसरमै आफू नित्य निरंतर सेवा गर्ने अवसर पाउन लालयित शक्तिस्वरुपा उमाले शिवको प्रार्थना गरेपछि शिव आज्ञाअनुसार उमाले वत्सलाको रुप लिनु भएको र वत्सलाको दर्शन गरेपछि मात्र शिवको दर्शन गरेको पुण्य मिल्ने कुरा हिमवत् खण्डमा वर्णन गरिएको छ । पार्वतीको रुपमा सतीको गुह्य पतन भएकोक्षेत्र विश्वको सात करोड पावन पीठको आदिमस्थल गुह्येश्वरीक्षेत्र पशुपतिनाथ मन्दिरको झण्डै एक कि.मि.उत्तर पूर्वमा रहेको छ भने माघस्नान गरेर पार्वतीले गौरीघाटमा रहेर किरातेश्वर भगवानलाई पाएको क्षेत्र पनि यसै मन्दिर उत्तर पूर्वीक्षेत्र हो । पशुपतिनाथको दर्शन गर्नु पूर्व गौरीघाटमा स्नान जल अर्चन गर्नु पर्ने, कैलाशक्षेत्रमा स्पर्श गर्नुपर्ने, प्रसिद्ध गौशालाक्षेत्रमा रहेकी जयवागेश्वरी आमाको स्तुति वन्दना गर्नु पर्ने कुरा नेपाल माहात्म्यमा वर्णन गरिएको छ भने वत्सलादेवीकी पुत्र चन्द्र विनायक चावहिलक्षेत्र र त्यसक्षेत्रमा जात्रा चलाइने नक्साल भगवतीको चर्चा पनि स्कन्दपुराणले वर्णन गरेको छ । वत्सलादेवी र नक्सालभगवती दिदीवहिनी हुन् भनिन्छ ।
पशुपतिनाथको दर्शन पूर्व मन्दिर परिसर उत्तरतर्फ रहेको वासुकी नागको दर्शन गर्नुपर्ने हुन्छ । पशुपतिनाथ मन्दिरलाई पुरै परिक्रमाभन्दा पनि किरातेश्वर, गुह्येश्वरीको दर्शन, मृगेश्वरमा जल अर्पण, गणेश, क्षेत्रपाल, नवग्रह, उन्मत्त भैरव, वत्सला, आकाश भैरव, जय मङ्गला, राजेश्वरी, भुवनेश्वरी, भष्मेश्वर आदि क्षेत्रको दर्शन वढी महत्वपूर्ण रहेको छ । अष्टमातृका लगायत नारायणको दर्शन र सत्यनारायणको दर्शन झन् महत्वपूर्ण छ । शिवरात्रि, तीज, वालाचतुर्दशी आदि विशेष भीड लाग्ने समय दर्शनार्थीहरुले नियमत: दर्शन गर्ने अबस्था रहन्न, भीडको कारण । मृगरुपी शिवले विचरण गरेको स्थल मृगस्थली हो । कैलाशमा शिवलाई नदेखेर ब्रह्मा–विष्णु–इन्द्रले मृगस्थलीमा मृगरुप शिवलाई देखेपछि शिवजीलाई समात्न लाग्दा शिवस्वरुप मृगको स्वर्णसिंग ३ टुक्रा भएको र आफूलाई अपराध लागेकोले प्रार्थना गर्दा शिवजीले यो अपराध लाग्दैन, ३ वटा सिंगका टुक्राहरु स्वर्ग, पाताल र नेपालक्षेत्र गोकर्णमा लगेर स्थापना गर्नु भन्ने आज्ञा भएपछि मत्र्यमण्डलको अर्को पावनक्षेत्र वागमती तटमा गोकेर्णेश्वर क्षेत्रको उदय भएको हो । जहाँवाट वाग्द्वारदेखि झरेकी वागमती स्वरुपा शिवगङ्गा वग्दै आएर आर्यघाटहुँदै पवित्र शंखमूल पुग्छिन् ।
मायारुपी पाशोमा वाँधिएका वद्धप्राणीलाई पशु भनिन्छ र मायावाट मुक्त पार्नेको नाम पतिका रुपमा सवै जीवका मालिक शिवलाई पशुपति भनिएको हो । अज्ञानी मनुष्यहरु नश्वर छन् । नश्वरले ईश्वर प्राप्त गर्ने प्रयास गर्नुपर्ने हुन्छ । जीव र जगत् दुवै परमेश्वर शिवका गहना हुन्, खेलौना पनि हुन् । तिनले हरदम परमेश्वरको चाहना गरेका हुन्छन् । अंशले अंशी प्राप्त गर्ने प्रयास स्वरुप जीवात्माहरु ब्रह्मादेखि स्थावर पर्यन्त सवै परमेश्वर शिवमा लय हुन चाहन्छन् । संसारको रचना सृष्टि हो, सृष्टिलाई चलाइ राख्नु पालना हो र सृष्टिलाई नाश गर्नु संहार हो । जीवात्मावाट प्राण पखेरु निस्कनुलाई तिरोभाव भनिएको छ । यी चारै कार्यवाट उन्मुक्त हुनु चांहिँ “अनुग्रह” हो । अर्थात् यहाँ जम्माजम्मी ५ कार्यहरु भए संसार चलाउन ! सृष्टि, पालना, संहार, तिरोभाव र अनुग्रह– यी पाँचै कार्य गर्ने पंचमुखी महादेव नै हुन् । मोक्ष हुनुको नाम जीवले शिव प्राप्ति गर्नु नै हो ! शिवको अर्को नाम कल्याण हो । शिवको ५ मुखले यही संकेत गर्छ, विश्व ब्रह्माण्डको कल्याण ! शिवरात्रिको महान अवसरमा सबैलाई शिव आशीर्वाद प्राप्त रहोस् शुभकामना ।





















