त्रिभुवन विश्वविद्यालयको जग्गामा रहेको लेबोरेटरी उच्च माध्यमिक विद्यालय संचालनको सम्झौता अवधि सकिदा समेत अटेर गरी त्रिविलाई चुनौती दिइराखेको छ । भूमाफिया र उच्च राजनीतिक व्यक्तिको साठगाठमा त्रिविको सम्पत्तिमाथि माफियाको रजगज चलेको कुरा त्रिवि सामान्य प्रशासन महाशाखाको पत्रले देखाएको छ ।
महाशाखाका प्रमुख राजु कुमार श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गामा रहेको उच्च माध्यमिक विद्यालय हटाउन गृहमन्त्रालय, शिक्षा मन्त्रालय, त्रिविका उपकुलपति लगायतको ध्यानाकर्षण गर्दै पत्राचार गरेका छन् । उनले लिजमा लिएको समायावधि सकिदासम्म पनि लेबोरेटरी उच्च माध्यमिक विद्यालयले उक्त जग्गा खाली नगरेको भन्दै आपत्ति जनाउँदै पत्राचार गरेका हुन् । हाल उक्त स्कुल स्थानान्तरण गर्नु पर्नेमा उल्टै त्रिविको जग्गामा पक्की कम्पाउण्ड (वाल)लगायत जंगलको रुखसमेत फडानी गरी तारजाली बार लगाएको हुँदा त्यसलाई तुरुन्त रोक्नुपर्ने उनले उल्लेख गरेका छन् ।





















