हुण्डी कारोबारमा संलग्न भएको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा पोखरिया नगरपालिका बनकटवा बस्ने वर्ष ३४ का हरिकिशोर पटेल र बारा जिल्ला महागढीमाई नगरपालिका बस्ने ४२ वर्षका रमेशप्रसाद कुसवाहा छन् ।
विशेष सूचनाका आधारमा भारतबाट स्रोत नखुलेको १३ लाख ५० हजार रुपैयाँ नेपाली लिएर आइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले विश्रामपुर गाउँपालिका–४ मुसहर्वास्थित सडकबाट नगदसहित पटेललाई पक्राउ गरेको जिल्ला प्रहरीले बताए । पटेल सवार २–०३–०१६ प २३३७ नम्बरको मोटरसाइकल बरामद गरिएको छ । पटेलको बयानका आधारमा आरके मनी चेन्जर बरियारपुरका सञ्चालक रमेश कुसवाहा पक्राउ परेका हुन् ।
बरामद भएको पैसा कुसवाहाको रहेको बताइएको छ । पक्राउ परेका व्यक्तिले पछिल्लो दुई दिनमा करिब आठ करोड रकम हुण्डी कारोबारमार्फत नेपाल भित्र्याएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । हुण्डी कारोबारमा संलग्न अरुको पनि खोजतलास भइरहेको उनले बताए । पक्राउ परेका दुई जनालाई जिल्ला अदालत बाराबाट म्याद थप गरी प्रहरीले अनुसन्धान सुरु गरेको छ ।


















