काठमाडौँ उपत्यकामा आज परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाईदै छ । सरकारले घोडेजात्राको अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । चैत्र कृष्ण औँसी तिथिमा मनाइने यो पर्वले तान्त्रिक मान्यतालाई आत्मसाथ गरेको पाइन्छ ।
किम्वदन्ती अनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने ‘गुरुमापा’ भन्ने राक्षसले तत्कालीन समयमा सहरका बालबालिकालाई खाने गरेकाले त्यस राक्षसको संहार गरेको मान्यता छ । घोडा कुदाउँदा उसको टापले ‘गुरुमापा’ भन्ने प्रेतात्मालाई कुल्चिने र त्यसले वर्षभर बालबालिकालाई दु:ख दिन नसक्ने बालबालिकामाथि खतरा नबन्ने जनविश्वास रहिआएको छ । विशेष गरी उपत्यकाका नेवार समुदायले घोडेजात्रालाई ठुलो चाडको रूपमा मनाउने गर्दछन् । जात्रामा विशेष गरी विवाह भएर गएकी छोरीचेलीलाई बोलाएर भोज खुवाउने प्रचलन कायमै छ ।
आजको दिन काठमाडौँको टुँडिखेलनजिकै रहेका ‘लुकुवा महादेव’ वा पिशाचेश्वर महादेवको पूजाअर्चना पनि गर्ने परम्परा छ ।घोडेजात्राका अवसरमा आज नेपाली सेनाले टुँडिखेलमा अश्वकला प्रदर्शन गरेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री,सभामुख,राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र मन्त्रिले सेनाको अश्वकला अवलोकन गर्नेकायक्रम छ ।


















