आज(सोमबार) बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले सरकार गठन प्रक्रियाविरूद्ध अदालत जाने निर्णय गरेको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरूद्ध कांग्रेस सर्वोच्च अदालत जाने तयारीमा रहेको हो ।
सत्ता गठबन्धनले असंवैधानिक तवरबाट बहुमत पुर्याएर सरकारको दाबी पेस गरेको कांग्रेसको ठहर छ । गण्डकीमा सभामुखको हस्ताक्षरसहित नेकपा (एमाले)बाट खगराज अधिकारी मुख्यमन्त्री बनेका छन् । त्यहाँ सरकार बनाउने बहुमत पुर्याउन ३१ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धनले सभामुखको हस्ताक्षरसहित ३१ जनासहित बहुमत पुर्याएको छ ।
कांग्रेसका एक नेताका अनुसार बैठकमा कांग्रेसले गण्डकी प्रदेशका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बोलाएर त्यहाँको वस्तुस्थितिबारे ब्रिफिङ लिएको बताएका छन् । उनले भने, ‘आज(सोमबार) सार्वजनिक बिदा भएकाले अदालत बन्द हुन्छ हामी अदालत जान सकेनौँ । भोलि सरकार गठनविरुद्ध अदालत जाने निर्णय भएको छ ।’

















