अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले पाँच करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गर्दै बुधबार थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
थापाले २०७४ असोजदेखि २०७९ माघसम्मको अवधिमा सात करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० रुपैयाँ लगानी तथा खर्च गरेको अख्तियारको दाबी छ । अख्तियारका अनुसार थापाले सार्वजनिक सेवामा बहाल रहँदा अवैध तरिकाले कमाएको सम्पत्ति श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ राम थापा र बुहारी द्वारीका राउतको नाममा समेत राखेका हुन् । सम्पत्ति जफत गर्नको लागि उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ ।


















