काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर २५ का पूर्ववडाध्यक्ष चन्दन कुमार शाक्यले मुलुकमा बढ्दै गएको महँगी, वैदेशिक चलखेल र राजनीतिक अस्थिरताप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ। वर्तमान सरकार र नयाँ राजनीतिक शक्तिहरूले जनअपेक्षा अनुसार काम गर्न नसक्दा सर्वसाधारणको जीवनस्तर अत्यन्तै कष्टकर बन्दै गएको उहाँको ठहर छ।
मुलुकको समसामयिक परिस्थितिबारे आफ्नो धारणा राख्दै पूर्ववडाध्यक्ष शाक्यले बजारमा उपभोग्य वस्तुहरूको मूल्यवृद्धि अत्यधिक बढेको र सर्वसाधारणले सहज रूपमा खाना पकाउने ग्याँस समेत पाउन नसकेको बताउनुभयो। “अहिले मुलुकमा महँगी यसरी बढेको छ कि जनतालाई जीवन धान्न नै धौ-धौ भइसकेको छ,” उहाँले भन्नुभयो, “सरकारले जतिसक्दो छिटो जनतालाई राहत दिने काम गर्नुपर्छ, तर दुई-तिहाइको सरकारले पनि जनतालाई राहत दिन नसक्नु दुःखद कुरा हो।”
उहाँले देशमा भ्रष्टाचार संस्थागत हुँदै गएको भन्दै अवैध रूपमा विदेशमा थुपारिएको रकम स्वदेश फिर्ता ल्याएर राष्ट्रको ढुकुटीमा जम्मा गर्नुपर्ने माग समेत गर्नुभयो। नेपालको आन्तरिक राजनीतिमा वैदेशिक हस्तक्षेप बढ्दै गएकोमा आपत्ति जनाउँदै उहाँले भन्नुभयो, “नेपालमा वैदेशिक चलखेलकै कारण अस्थिरता आउने गरेको छ, यहाँसम्म कि राष्ट्रिय संस्थाहरूको अन्त्यका लागि समेत विदेशी शक्तिहरूले भूमिका खेलेका छन्। अब विदेशीले जे भन्छन्, त्यसैको पछाडि कुद्ने परिपाटी अन्त्य हुनुपर्छ।”
राजनीतिक परिवर्तन र दलहरूप्रति जनताको मोहभङ्ग हुँदै गएको सन्दर्भ उल्लेख गर्दै शाक्यले विगतमा पुराना दलहरूले देश बनाउन नसकेकै कारण जनताले माओवादी आन्दोलन, राजतन्त्र र हालै ‘जेनजी’ (Gen Z) विद्रोहपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन शाहप्रति ठुलो आशा राखेको स्मरण गराउनुभयो। तर, जनताले राखेको त्यो उच्च अपेक्षा अनुसार कसैले पनि राहत दिन नसकेको, युवाहरूलाई रोजगारी दिन नसकेको र राष्ट्रियता बलियो बनाउन नसकेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो। विगतको तुलनामा वर्तमान स्थिति झन् कमजोर बन्दै जानु मुलुकका लागि दुर्भाग्यपूर्ण भएको उहाँको भनाइ छ।
पूर्ववडाध्यक्ष शाक्यले यो सुन्दर देशलाई अझ विकसित, समृद्ध र समुन्नत बनाउन अब सम्पूर्ण नेपालीहरू, विशेष गरी युवा पुस्ता राजनीतिक स्वार्थभन्दा माथि उठेर एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ।


















